हामि संग जोडिनुहोस

साहित्य

समयमै कञ्जुस हुन सिक्नुस् र एक्लै पिउन जान्नुस्

  • Logo
  • Logo
    २०८०-४-७
  • सुन्नुहोस् 
900  
Banner

डन पवेल

सन् १८९६ मा जन्मिएकी उपन्यासकार डन पवेलको परिचय कथाकार तथा नाटककारका रूपमा पनि उत्तिकै प्रख्यात छ । उनको समयमा उनी एक मात्र महिला व्यंग्यकार थिइन् । तर दुःखको कुरा उनले जीवनकालमा खासै सफलता हात पारिनन् । उनको पाँचौँ उपन्यास टर्न, म्याजिक ह्विलले मात्र उनलाई केही चर्चा दिलायो । त्यसपछि अ टाइम टु बर्नले उनी साँच्चिकै साहित्यकारै हुन् भन्ने स्थापित गर्यो । उनको विद्वता र प्रख्याति भने सन् १९९० को दशकपछि मात्र ह्वात्त बढेको हो । मृत्युपछि चर्चा पाउने साहित्यकारको सूचीमा उनी पनि पर्छिन् ।

एक दिन दुई जना साथी डन पवेल र एडमन्ड विल्सन रक्सी खाइसकेपछि न्युयोर्कको मूल सडकबाट घरतर्फ लागे। बीच बीचमा टुच्च लगाउनु पर्यो भन्ने नियतका साथ उनीहरूले एउटा भोड्काको बोतल पनि गाडीमा राखेका थिए । घर जाँदै गर्दा बाटामा गाडीको टायर पङ्चर भयो । गाडी एडमन्ड विल्सनकी छोरीले चलाइरहेकी थिइन् । पछाडि पवेल र विल्सन भोड्का पिइरहेका थिए । अब गाडी चलिरहेको छैन तापनि उनीहरूलाई केही मतलब थिएन । बस्, पिएर गफमा मस्त भइरहेका थिए ।


छोरी चाहिँ अब यिनले के भयो भनी सोध्लान् र सहयोग चाहियो भनूँला भनेर कुरिरहेकी थिई । रक्सीले मात्तिएका ती दुईबाट केही सहयोग नपाउने भएपछि गाडी त्यहीँ छाडेर विल्सनकी छोरी मेकानिक खोज्न निस्किई । पछि जब मेकानिकसहित छोरी आइपुगी, त्यहाँ विल्सन र पवेल देखिएनन् ।

यसपछि कार बनाएर छोरी घर पुग्दा त विल्सनकै घरमा पवेल र विल्सन मज्जाले गफ गरेर बसिरहेका थिए ।

छोरी मेकानिक खोज्न निस्कँदा प्रहरीले दुई जना त्यहाँ अलपत्र परेकी देखी दुवैलाई घरसम्म पुर्याइदिएको रहेछ भन्ने पछि छोरीले थाहा पाई । उसले त्यो बेला आफ्ना बा विल्सन र साथी डन पवेल कति चर्चित साहित्यकार रहेछन् भन्ने थाहा पाई ।

०००

जब मेरो हातमा मार्टिनी हुन्छ, म आफूलाई वास्तविक मान्छे नै हुँ भन्नेमा पक्का हुन्छु ।

एन सेक्स्टन

सन् १९२८ मा अमेरिकामा जन्मिएकी एन सेक्स्टन प्रख्यात कवि सिल्भिया प्लाथकी कक्षामा पढ्थिन् । सिल्भिया र एन लगायत अन्यले कन्फेसनल स्कुल अफ पोएट्री समूह गठन गरेका थिए । सिल्भिया जस्तै एन पनि अवशादबाट ग्रस्त हुन्थिन् भने कयौँ पटक उनलाई औषधि खानु पर्थ्यो । कतिपटक त उनलाई मानसिक अस्पतालै पुर्याउनु पर्ने हो कि भन्ने दोधारमा उनका साथीहरू पर्थे । उनले कविता लेख्न थालेको शुरूवाती चरणमै चर्चा पाइन् । उनको प्रथम पुस्तक टु बेडलम एन्ड पार्ट वे ब्याक चर्चामा रह्यो भने तेस्रो पुस्तक लिभ अर डाई संग्रहले त उनलाई पुलित्जर पुरस्कार नै दिलायो । उनको निधन सन् १९७४ मा भएको थियो ।

उनी बोस्टन विश्वविद्यालयमा पढ्दाताका रोबर्ट वलेलको सिर्जनात्मक कक्षा लिइरहेकी हुन्थिन् । त्यहीँ उनकी साथी सिल्भिया प्लाथ र अन्य साथीहरूसँग मिल्ती बढ्यो । रित्ज कार्लटन पनि समूहमा मिसिएपछि कन्फेसनल पोएट्रीको जन्म भएको थियो । प्रायः सिल्भिया र एन भेला भएपछि रक्सीको चरण शुरू हुन्थ्यो तर जहाँ पायो त्यहीँ बसेर खाइदिनाले कहिलेकाहीँ प्रशासनको वक्र दृष्टिमा पनि पर्थे । गुडाइरहेको गाडी अनधिकृत ठाउँमा पार्क गरेर रक्सी पिउने बानीले सिल्भिया र एन अप्ठेरोमा पर्थे ।

एक पटक दुवै जना आफ्नो अवशादको अवस्था र मर्न मन लागेको कुराबारे छलफल गरिरहेका थिए । त्यो बेला उनीहरू एउटा रक्सी भट्टीमा थिए । त्यहाँबाट उनीहरू निस्केर कहाँ आत्महत्या गर्ने भनी योजना बनाउन थाले । योजना बनाउँदा बनाउँदै उनीहरूले यति धेरै पिए कि त्यो दिनको योजना उनीहरूले रद्द गर्नु पर्यो ।


यो कुरा एन सेक्ब्स्टनले लेखेको एउटा पत्रमा उल्लेख छ ।

०००

रक्सीले मलाई रसहीन, उत्साहहीन घरमा बस्ने शक्ति दिन्छ 

जिन स्टाफोर्ड

सन् १९१५ मा जन्मिएकी जिन स्टाफोर्ड कथाकार तथा उपन्यासकारका रूपमा चिनिइन्छिन् । उनले पहिलो उपन्यास बोस्टन एडभेन्चरबाटै चर्चा पाएकी थिइन् । खासमा उपन्यास बेस्टसेलर नै बनेपछि उनी चर्चित भइन् । उनले त्यसपछि दुई वटा थप उपन्यास लेखिन् तर उनको संकलित छोटा कथाले पुलित्जर पुरस्कार जितायो ।

जिन स्टाफोर्ड यति रक्स्याहा थिइन् कि उनका समकालीन पनि जिब्रो टोक्थे, चकित पर्थे । उनी कहीँकतै देखा परिनन् भने कतै रक्सी पिइरहेकी होलिन् भनेर साथीसंगीले लख काट्थे । रक्सी खाँदा नै उनले पहिलो पति रोबर्ट लवेललाई भेटेकी थिइन् । दुवैले रक्सी खाँदा नै बिहे गर्ने निधो गरे र छुट्टिने निधो पनि रक्सी खाएरै गरेका थिए । मेइन शहरमा बस्दाताका उनलाई यति पिउनु पर्थ्यो कि एक जना स्थानीय प्रहरी, जो उनलाई साहित्यकारका रूपमा सम्मान पनि गर्थ्यो, उसैलाई मासिक तलब दिएर रक्सी भट्टीबाट घरसम्म पुर्याइदिन्थ्यो । करिब २५ किलोमिटर टाढाको घरमा दैनिक ती प्रहरीले ल्याइदिन्थे ।

उनले रक्सी धेरै खाइन् भनेर रोक्नका लागि उनका निजी चिकित्सक र अन्य साथीभाइले निकै प्रयास गरे तर सकेनन् किनभने उनले रक्सी कहाँ कहाँ लुकाउने र कसको कहाँ नजर पुग्दैन भन्ने खुब अध्ययन गरेकी थिइन् । उनले कुक बुकमा रक्सी लुकाउँथिन् र साथीभाइहरूको आँखा छलेर सुरूप्प पार्न भ्याइहाल्थिन् । कहिलेकाहीँ औषधिको बोतलमा पनि उनले रक्सी भरिदिन्थिन् ।

एक रात पार्टीबाट घर फर्कंदै गर्दा उनलाई अर्कै एक जना पाहुनाले साथ दिएका थिए । ती पाहुनाले जिनलाई आजदेखि नखान कसम ख्वाइन् र आफू पनि नखाने कसम खाइन् । त्यसपछि दुवै साथीले आफ्नो ह्यान्डब्याग गाडीको झ्यालबाट फ्याँकिदिए । दुवैको ह्यान्डब्यागमा महँगो रक्सी एउटा औषधिको बोतलमा भरिएको छ भन्ने दुवैलाई थाहा थियो ।साभारःसाहित्य पोष्ट


तपाइको प्रतिक्रिया दिनुहोस्