समाचार
न्यू सागर युवा क्लबद्वारा आयोजित फुटबल प्रतियोगिताको उपाधि ‘रमेश फेन्सी’लाई

धनगढी । न्यू सागर युवा क्लबद्वारा रामनवमी २०८१ को अवसरमा आयोजित बृहत फुटबल प्रतियोगिताको उपाधि ‘रमेश फेन्सी’ टोलीले जितेको छ। फाइनल खेलमा ‘सुदूरपश्चिम प्रदेश प्रहरी’लाई १–० गोलले पराजित गर्दै उपाधि आफ्नो नाममा दर्ता गरेको हो।
प्रतियोगिता चैत्र २१ गते सुरु भएको थियो, जसको उद्घाटन पूर्व भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले गरेका थिए। “खेल: स्वास्थ्य, मनोरञ्जन र विकासका लागि महत्वपूर्ण” भन्ने मूल नारासहित प्रतियोगिता सञ्चालन गरिएको हो।
क्लबका अध्यक्ष अक्कल बहादुर भण्डारीले क्लब शून्य पोइन्ट क्षेत्रमै रहेको भए पनि यसलाई माथि उठाउन सबैको साथ आवश्यक रहेको बताए। उनले अनुशासनयुक्त खेलको महत्व औंल्याउँदै अराजक गतिविधिले आफैंलाई हानि पुर्याउनेसमेत उल्लेख गरे।
समापन समारोह धनगढी उपमहानगरपालिका–१४ का वडाध्यक्ष मानबहादुर विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो। कार्यक्रममा राम जानकी वन उपभोक्ता समितिका अध्यक्ष जयानन्द भट्टसहित अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।
अध्यक्ष विष्टले क्लबको कमजोर अवस्थाका बाबजुद यस्तो भव्य कार्यक्रम आयोजना गर्नु प्रशंसनीय भएको उल्लेख गर्दै आयोजक टोलीलाई बधाई दिए र सफल कार्यकालको शुभकामना व्यक्त गरे।
समापन समारोहमा स्थानीय नागरिक तथा खेलप्रेमीहरूको बाक्लो उपस्थिति देखिएको थियो।
तपाइको प्रतिक्रिया दिनुहोस्