भारतमा लुक्दा किन दिल्ली-लखनउ गर्दै थिए दुर्गा प्रसाईं ? - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

भारतमा लुक्दा किन दिल्ली-लखनउ गर्दै थिए दुर्गा प्रसाईं ?

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-१२-३०
  • सुन्नुहोस् 
 
भारतमा लुक्दा किन दिल्ली-लखनउ गर्दै थिए दुर्गा प्रसाईं ?

काठमाडौं । तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पूर्वी नाका काँकडभिट्टा हुँदै भागेका दुर्गा प्रसाईं भारतको राजधानी नयाँदिल्ली, प्रयागराज र लखनउसमेत पुगेको भेटिएको छ ।

नेपाल प्रहरी उच्च स्रोतका अनुसार, अनुसन्धान अधिकृतहरूले पूर्वी नाका काँकडभिट्टा हुँदै भारत छिरेका प्रसाईं त्यहाँबाट नयाँदिल्ली, लखनउ लगायतको स्थानमा पुगेको आधार भेट्टाएका छन् ।

प्रारम्भिक सोधपुछमा प्रसाईंले समेत त्यहाँ पुगेको स्वीकारेका छन् । यद्यपि, औपचारिक बयान लिन बाँकी छ । अनुसन्धानका लागि अदालतबाट म्याद लिएपछि बयान लिने क्रम सुरु गर्ने प्रहरीको तयारी छ ।

राजसंस्थासँगै हिन्दूराष्ट्रको अजेन्डा उठाइरहेकाले भारतीय पक्षबाट कुनै सहयोग प्राप्त हुन्छ कि भन्ने अपेक्षासहित प्रसाईं त्यता गएको हुनसक्ने शंका गरिएको छ ।

‘भारतमा आरएसएसका केही प्रदेशस्तरीय नेताहहरूसँग उनको सम्पर्क देखिन्छ, त्यही आधारमा सहयोग खोज्दै उनी पुगेका रहेछन्’, स्रोतले भन्यो, ‘तर कसैले सहयोग गर्ने छाँट नदेखेपछि उनी फर्किएर फेरि आसाम आएका थिए ।’

आरएसएस भारतको सत्तारुढ भारतीय जनता पार्टी (बीजेपी) को मातृसंस्था राष्ट्रिय स्वयंसेवक संघ हो ।

काठमाडौंमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई २५ फागुनमा स्वागत गरेका बेला एक प्रदर्शनकारीले उत्तरप्रदेशका मुख्यमन्त्री आदित्यनाथको फोटोसमेत देखाएका थिए ।प्रसाईंले एक सार्वजनिक कार्यक्रममा आदित्यनाथ ‘हिन्दूराष्ट्र धर्मको प्रतीक’ भएको भन्दै फोटो देखाउनु सामान्य विषय भएको तर्क गरेका थिए । ‘उनीहरूले मार्क्स, लेनिन र स्टालिनको फोटो राख्दा केही नहुने तर, यो विषयलाई चाहिँ त्यत्रो ठूलो विषय बनाउनुपर्ने ?’, उनले प्रश्न गरेका थिए ।

नेपालको राजावादी प्रदर्शनमा उत्तरप्रदेशका मुख्यमन्त्रीको फोटो देखाइएको विषयलाई भारतीय सञ्चारमाध्यमहरूले समेत प्राथमिकताका साथ प्रसारण गरेका थिए । यसपछि परराष्ट्र मन्त्रालयले समेत चासो देखाएको थियो । र, १९ चैतमा भारतका लागि नेपाली राजदूत शंकर शर्माले लखनउ पुगेर मुख्यमन्त्री आदित्यनाथलाई भेटेका थिए ।

दिल्लीस्थित नेपाली दूतावास स्रोतका अनुसार, शर्माले त्यो भेटमा नेपालमा भइरहेको राजावादी प्रदर्शनबारे कुराकानी गरेका थिए ।

त्यस क्रममा आदित्यनाथले आफ्नो नेपाली राजपरिवारसँग पुरानो सम्बन्ध भए पनि ‘काठमाडौंमा भइरहेको गतिविधिबारे आफ्नो कुनै पोजिसन नभएको’ जवाफ दिएको स्रोतको भनाइ छ । उनले त्यसबेला त्यो विशुद्ध काठमाडौंको आन्तरिक विषय भएको जवाफ दिएको स्रोतको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार