हामि संग जोडिनुहोस

साहित्य

शासकको जय होस्

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-१२-८
  • सुन्नुहोस् 
1.14K  
Banner

मेरो शासकलाई विकास मन पर्छ

मान्छेका घर,

ईच्छा, आकांक्षा र सपनाहरु कुल्चेर

गरेको विकास झन मन पर्छ

मेरो शासकलाई कर औधी मन पर्छ

तर कर तिर्ने मान्छे मन पर्दैन

कर तिर्ने उद्योग त झन मन पर्दैन

मेरो शासकलाई स्तुती मन पर्छ 

तिमी सुझाव दिन्छौ,

जो मेरो शासकलाई मन पर्दैन

शासकलाई अरुको चर्चा

प्रशंसा र प्रगती मन पर्दैन

त्यसैले चुपचाप बस

केही नगरी बस

तिमी सहकार्य र सहअस्तित्वका कुरा गर्छौ

जो मेरो शासकलाई पटक्कै मन पर्दैन

मेरो शासकलाई विकास मन पर्छ

मान्छे मन पर्दैन

अझ फरक मत राख्ने

र, आफूसंग असमहत हुने

मान्छे पटक्कै मन पर्दैैन

तिमी बाँच्नु छ, भने

शासकको भजन गाउ

तिमी बस्नुछ, यो शहरमा भने

चुपचाप बस

दुख्यो नभन चोटहरुमा

ऐया नभन, दुखाईहरुमा

शासकलाई तिमी मन नपरे, 

शासकको डोजरलाई 

तिम्रो घर मन नपर्न सक्छ

डोजर बौलायो भन्यो 

तिम्रो घर नरहन सक्छ

त्यसैले सडकमा बसेर

उज्याँलो हेर

दीपावली मनाएको शहरमा 

तिम्रो अभाव, पीडा र भोकका कथा

लेख्नेहरु विकास बिरोधी हुन सक्छन

त्यसैले भोकका कथा नलेख्नु कसैले

घर नभए के भयो,

तिमीलाई के उज्याँलो मन पर्दैन रु

हो, त्यही उज्याँलो हेरेर बस्नु

किनकी शासकलाई उज्यालो मन पर्छ

तिमीलाई पनि त्यही मन पर्नुपर्छ

शासकलाई जे जे मनपर्छ

तिमीलाई शासकले मन नपराउने चिजहरु

मन नपराउन छुट छैन

औषधी नपाएर मर 

वा 

वीष खाएर मर

मरेपछि तिमीले पाउने सलामी छदैछ

सान्त्वना र केही थान नोट पाउन तिमी मर्नै पर्छ

बाँच्न त यो शहरमा तिमीलाई छुट छैन

किनकी शासकलाई ज्यूँदो मान्छे मन पर्दैन

ज्यूँदो मान्छे बोल्छ

असहमती जनाउछ

दुख्दा ऐया भन्छ

जुन कुरा मेरो शासकलाई मन पर्दैन

शासकलाई स्वच्छन्दता मन पर्छ

तर तिम्रो स्वतन्त्रता मन पर्दैन

अध्याँरा वस्तीहरु मन पर्दैनन शासकलाई

त्यसलै अध्यारा वस्तीहरुको चर्चा नगर्नु

शासकलाई हिलाम्य र धुलाम्य सडक मन पर्दैनन

त्यसैले 

शासकले देखाएको 

उज्याँलो र फराकिलो त्यही एउटा सडक हेर्नु

अनि गर्नु जयजयकार

तिमीले एक छाक खान नपाएको कुरा नगर्नु

नगर्नु बैंकको किस्ता तिर्न नसकेको कुरा

मूल्य अभिबृद्धि कर शासकले नै नतिरेपछि

तिमीले तिर्नुपर्छ भन्ने छैन 

विकासले घरवार बिहीन भएको कुरा नगर्नु

दरवारमा बस्ने भए त तिमीले पनि शासक हुनुपथ्र्यो

फी तिर्न नसकेर 

स्कूलले बच्चा निकालिदिएको कुरा गर्दै नगर्नु

तिमी अहिलेका लागि सोच्दैछौ

शासक पचाँस वर्षपछिका लागि सोच्दैछ

तिम्रो भावी पीढिका लागि सोच्दैछ

तिमी विकासका नाममा मर्न नसक्ने

कस्तो स्वार्थी मान्छे रु

शासकले तिमीलाई घरवार बिहीन बनाएको

यो बलिदानी बिरलै मान्छेको भाग्यमा हुन्छ

तिमी त भाग्यमानी

शासकप्रति धन्य हुन सिक

शासकको जयजयकार गर

र, भन्, हामी मरे पनि

हाम्रो शासक अमर रहोस

 

लेखक- दीर्घराज उपाध्याय, धनगढी, कैलाली


तपाइको प्रतिक्रिया दिनुहोस्