वायु प्रदूषणको पीडा - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

वायु प्रदूषणको पीडा

  • Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८१-१२-२७
  • सुन्नुहोस् 
 
वायु प्रदूषणको पीडा

वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटु रोग, दम, निमोनिया, मस्तिष्कघातको जोखिम हुन्छ ।विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियामा वायु प्रदूषणबाट हुने रोगबाट बर्सेनि २० लाखको मृत्यु हुने गर्दछ। दक्षिण एसियामा वायु प्रदूषणको अवस्था भयावह छ। २.५ माइक्रोमिटर वा सोभन्दा साना धूलोका कणलाई पीएम २.५ भन्ने गरिन्छ। धेरै साना हुने यस्ता कणले फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमा प्रवेश गरेर मानिसलगायत अन्य जीवित प्राणीमा अस्वस्थ बनाउँछ।  

सोको प्रभावबाट श्वासप्रश्वाससम्बन्धी रोगसँगै फोक्सोको क्यान्सर हुने डब्लूएचओले जनाएको छ। त्यस्तै विश्व बंैकको ‘स्ट्राइभिङ फर क्लिन एयरः एयर पोलुसन एन्ड पब्लिक हेल्थ इन साउथ एसिया’ अध्ययन प्रतिवेदनमा हावामा वार्षिक औसत पीएम २.५ को मात्रा ३५ माइग्रोम प्रतिघनमिटरमा पाइएको उल्लेख छ। भारतको लखनउ, कोलकाता, बनारस, नयाँ दिल्ली र पटना, नेपालको काठमाडौं उपत्यका, बंगलादेशको ढाका, अफगानिस्तानको काबुल र पाकिस्तानको इस्लामाबादमा वार्षिक रूपमा हावामा धूलोको कणको मात्रामा औसतभन्दा बढी छ। सोअनुसार हावामा पीएम २.५ को मात्रा धेरै जनसंख्या भएको ठाउँमा २० गुणभन्दा बढी पाइएको छ।  सो प्रतिवेदनअनुसार वायु गुणस्तरको लागि दक्षिण एसियाली मुलुकमा बनाएको नियम पनि प्रभावकारी कार्यान्वयन नभएको जनाएको छ। सो समस्या समाधानको लागि उत्सर्जनमा कटौतीसँगै क्षेत्रीय रूपमा पहल र समन्वयको खाँचो छ। पूर्ण रूपमा नीतिगत व्यवस्था कार्यान्वयन गरिए हावामा धूलोका कणको मात्रा ४ प्रतिशतले मात्र घट्ने प्रतिवेदनमा उल्लेख छ। सन् २०१८ देखि २०३० मा यस क्षेत्रमा धूलोको कणको मात्रा १२ प्रतिशतले बढ्ने प्रक्षेपण गरिएको छ। प्रदूषण बढ्नुको कारण खाना पकाउने दाउरा, स–साना उद्योगबाट निस्कने उत्सर्जन, इँटा उद्योग, फोहोर व्यवस्थापनमा कमजोरी, बढ्दो सवारी साधन, प्लास्टिक जलाउने कार्यले वायु प्रदूषण बढेको छ। साथै असन्तुलित रूपमा वितरण र प्रयोग हुने रासायनिक मलले पनि वायु प्रदूषण बढाउन भूमिका खेलेको र पश्चिम दक्षिण एसियाली क्षेत्रमा धूलो, जैविक कम्पाउन्ड, वनमा डढेलोको प्रभावबाट वायु प्रदूषण भएको जनाएको छ।

नेपालको सन्दर्भमा गर्मी बढेसँगै जताततै डढेलो लाग्ने, विभिन्न राजमार्ग तथा सडक निर्माण, डिजेल/पेट्रोल गाडी तथा अन्य विभिन्न कार्यले गर्दा प्रदूषण बढेको छ। विश्वको वायु गुणस्तर मापन गर्ने स्विटजरल्यान्डको वेबसाइट आईक्यूएयरका अनुसार २०८१ साल चैत्र १९ गते काठमाडौंको वायु गुणस्तर बिहान १०ः४५ देखि ११ः४५ मा खतरनाक तह अर्थात् एक्यूआई ३०० पुगी सबैभन्दा बढी प्रदूषित सहरको सूचीमा परेको थियो। विज्ञका अनुसार २०७७ सालपछि अहिलेको वायुको गुणस्तर सबैभन्दा अस्वस्थकर हो। हुन त नेपालको संविधानको धारा ३० मा स्वस्थ वातावरणको हकलाई मौलिक हकको रूपमा उल्लेख गर्दै स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारको व्यवस्था गरेको पाइन्छ। वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ मा वायु प्रदूषणबाट हुने असर न्यूनीकरण वा निराकरण गर्नको लागि आवश्यक मापदण्ड निर्धारण गर्न सक्ने उल्लेख छ। गुणस्तरीय वायुसहित नागरिकको स्वच्छ तथा स्वस्थ वातावरणको हकको सुनिश्चितताका लागि तीनै तहको सरकारको प्रयास हुनु आवश्यक  छ। अन्तर्राष्ट्रिय महासन्धि १९९६ को धारा ११ को उपधारा २ (क), धारा १२ को उपधारा २ (ख) र (ग) मा भएको व्यवस्थाबमोजिम वातावरणीय अधिकार तथा बालअधिकारसम्बन्धी महासन्धि १९८९ ले वातावरणीय प्रदूषणबाट हुने खतरा र बालबालिकालगायत सबैलाई सुरक्षित राख्नु आवश्यक छ। 

नेपालतिर प्रदूषण बढ्नुमा भारत र चीनको पनि प्रभाव पर्दछ। कचौरा आकारको उपत्यकामा स्थानीय प्रदूषणसमेत मिसिएपछि वायु थप प्रदूषण बन्छ। वायु वेगले बगेको भए प्रदूषण घट्थ्यो। तर हावापनी चलेन, प्रदूषणमात्रै भित्रिरह्यो। सो कारणले वायु मण्डलको तल्लो तहसम्मै प्रदूषण अत्यधिक फैलिन्छ। विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार एक्यूआई ३५ भन्दा कम हुनुपर्छ। ५१ देखि १ सयसम्मको एक्यूआईलाई सामान्य मानिन्छ। एक्यूआई २ सय १ भन्दा माथि पुगे धेरै अस्वस्थकर हुन्छ। ३ सय १ भन्दा माथि पुगे घातक हुन्छ। 

प्रदूषणको कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्दछ। सो असरको प्रभावले छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न संक्रमण हुने जोखिम बढ्ने हुन्छ। प्रदूषणको कारणबाट ज्येष्ठ नागरिक, बालबच्चा, दीर्घरोगी र मुटुका रोगीजस्ता मानिस बढी प्रभावित हुन्छन्। स्वस्थ व्यक्ति पनि सो कारण हाच्छियुँ हाउने, खोकी लाग्ने, नाकबाट सिंगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, आँखा पोल्ने, छातीमा संक्रमण हुने गर्दछ। भौगोलिक बनावटको कारण काठमाडौंको वायुप्रदूषण त्यसै पनि उच्च छ। बाक्लो बस्ती, अव्यवस्थित सवारीसाधन, फोहोरमैला, उद्योगधन्दा र विकास निर्माणका कामले प्रदूषण बढाउने गरेको छ। 

विश्व स्वास्थ्य संगठनकाअनुसार वायु प्रदूषण संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य जोखिम हो। वायु प्रदूषणका कारण नेपालमा हुने मृत्युदरमध्ये ३७ प्रतिशत मस्तिष्कघातबाट हुने मृत्यु, ३४ प्रतिशत मुटुरोगबाट हुने मृत्यु, ३४ प्रतिशत फोक्सोको क्यान्सरबाट हुने मृत्यु र २२ प्रतिशत नवजात शिशु तथा बालबालिकाको मृत्यु हुने गर्दछ। वायु प्रदूषणका कारण खासगरी फोक्सोको क्यान्सर, मुटुको रोग, फोक्सोको रोग, दम, निमोनिया, मस्तिष्कघात, कम तौल वा समय नपुग्दै बच्चा जन्मिने समस्या हुन्छ। यसको रोकथामको लागि वातावरणमैत्री सवारीसाधन प्रयोग गर्ने, सवारीसाधनको वायु प्रदूषण मापन गरी योग्य मात्र सञ्चालन गर्ने, विद्युतीय सवारीसाधनलाई प्रश्रय दिने, वायु प्रदूषण गर्ने कलकारखाना, उद्योग तथा ईटा भट्टामा विद्युतीय उर्जाको उपयोग गर्ने, वन डढेलो नियन्त्रण गर्ने, जथाभावी फोहोर नजलाउने, वायु प्रदूषण हुन नदिने, सम्भव भएसम्म घरमै बस्ने, श्वास फेर्न असजिलो, खोकी, छातीमा समस्या, आँखा पोल्नेलगायतका समस्या भए स्वास्थकर्मीसँग सम्पर्क गर्ने तथा स्वास्थकर्मीको सल्लाहअनुसार प्रशस्त पानी पिउने, बोटबिरुवा लगाई हावालाई सफा गर्ने, घरबाहिर निस्किँदा गुणस्तरीय मास्क लगाउने, बढी भीडभाड भएको ठाँउमा नजाने, कम प्रदूषित क्षेत्रमा व्यायाम गर्ने, उचित किसिमले फोहोर व्यवस्थापन गर्ने आदि। तुवाँलाको स्तर व्यापक रहेसम्म आम व्यक्तिलाई समेत कठिन व्यायामबाट जोगिन सल्लाह दिने, बढ्दो प्रदूषणको अवस्थामा मर्निङ, इभिनिङ वाक वा घर बाहिर गरिने व्यायामले स्वास्थ्यमा असर गर्ने हुन सक्छ सोबाट जोगिने, वायु प्रदूषणले छालामा समेत असर पार्ने, समयभन्दा अगाबै बुढ्यौली आउने, चाउरिनु, छालामा दाग लाग्नुलगायतका थुपै छालासम्बन्धी समस्या देखिनुका तत्काल एलर्जी, छाला रातो हुने, बिमिरा आउने, चिलाउने, घाउ हुने, जलन र संक्रमण हुन सक्ने हुन्छ। एक्जिमाको समस्या हुनेलाई वायु प्रदूषण/तुवाँलोले झन् असर गर्न सक्छ। 

चिकित्सकका अनुसार प्रदूषण बढेको समयमा वातावरणको सम्पर्कमा आउने शरीरको भागलाई सफा पानी वा फेस वासले राम्ररी धुने र मोइस्चराइज वा नरिवलको तेल लगाउनुपर्छ। त्यस्तै समयसमयमा छालालाई मधुरो स्क्रब गर्नाले बाहिरी सतहमा भएको मृत छाला, जम्मा भएको प्रदूषक, रसायनको तह आदि घटाउन सकिन्छ। स्वास्थकर्मीका अनुसार तुवाँलोले आँखा रातो हुने, आँसु आउने, चिलाउने, चिप्रा आउने हुन सक्छ। एलर्जी भएर आँखा जोडले चिलाएमा आँखाको सतहमा चोटपटक भई संक्रमणको खतरा हुन सक्छ। यस्तो प्रदूषणबाट आँखालाई जोगाउन बेलाबेलामा सफा पानीले धुनुपर्दछ। वायु प्रदूषणले मानव स्वास्थ्यमा मात्र नभएर जीवजन्तु, वनस्पतिलगायत प्राकृतिक सम्पदा, पुराताŒिवक सम्पदा र अन्य भौतिक संसाधनमा समेत क्षति पुगेको छ। प्रदूषण नियन्त्रण र व्यवस्थापनको लागि सम्बन्धित निकायसँग समन्वयको आवश्यक छ। यो अवस्थाबाट बच्न स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले समन्वय गर्दै प्रदूषणजस्तो विपद्लाई अविलम्ब न्यूनीकरण गरी मानव स्वास्थ्यको रक्षा गर्नु आजको आवश्यकता हो। 

डा. माधव अधिकारी

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार