हामि संग जोडिनुहोस

प्रवास

पाकिस्तानको पञ्जाब प्रान्तमा चर्कियो विद्यार्थीको प्रदर्शन

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-२
  • सुन्नुहोस् 
12  
Banner

लाहोर । पाकिस्तानको पञ्जाब प्रान्तमा विद्यार्थीहरूको प्रदर्शन चर्किएपछि शैक्षिक संस्थाहरू बन्द गरिएको छ । प्रदर्शन चर्केसँगै पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबार र शनिबार सार्वजनिक स्थानमा भेला हुनसमेत रोक लगाएका छन् । विद्यालय बन्द गरिएसँगै पञ्जाब प्रान्तका करिब २ करोड ६० लाख बालबालिको पठनपाठन प्रभावित भएको जनाइएको छ । प्रान्तीय राजधानी लाहोरमा ‘पञ्जाब कलेज फर वुमेन’ को भवनको पार्किङस्थलमा एक छात्रामाथि बलात्कार भएको समाचार सामाजिक सञ्जालमा फैलिएपछि विद्यार्थीहरूको विरोध प्रदर्शन सुरु भएको हो । तर प्रहरी, कलेज र प्रान्तीय सरकारले कुनै पनि पीडित नभेटिएको र सामाजिक सञ्जालमा फैलिएको सूचना गलत भएको बताएका छन् ।

अधिकारीहहरूले सर्वसाधारणलाई आन्दोलित नहुन आग्रह गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । लाहोरस्थित पञ्जाब ग्रुप अफ कलेजका निर्देशक आरिफ चौधरीले घटनासँग सम्बन्धित कोही पनि व्यक्ति नभेटिएको र त्यस्तो घटना भएको भए आफू विद्यार्थीको साथमा उभिने बताएका छन् ।

लाहोरका साथै राजधानी इस्लामावादसँग जोडिएको रावलपिण्डीका क्याम्पसहरूमा पनि प्रदर्शन फैलिएको छ । प्रदर्शनकारीहरूले लाहोरस्थित क्याम्पस र सवारी साधनहरूमा आगजनी गरेका छन् । प्रदर्शनका क्रममा कैयौं स्थानमा विद्यार्थी र प्रहरीबीच झडपहरू भएका छन् ।

रावलपिण्डीका वरिष्ठ प्रहरी अधिकारी सैयद खालिद महमुद हमदानीले बिहीबार सहरमा भएको प्रदर्शनमा तोडफोड र आगजनी गरेको आरोपमा ३ सय ८० जनालाई पक्राउ गरिएको र अनुसन्धान जारी रहेको बताएका छन् । ‘हामीले हिंसात्मक गतिविधिमा संलग्न व्यक्तिको खोजीमा छौं,’ उनले भनेका छन् ।विद्यार्थीहरूले भने सत्य ढाकछोप गरी आफ्नो संस्थाको साख जोगाउन सरकार र उच्च अधिकारीलाई घूस दिइएको दाबी गरेका छन् । लाहोरकी मुख्यमन्त्री मरियम नवाज सरिफले गलत पोस्ट फैलाउनेलाई दण्डित गरिने बताएकी छन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्