सुदूरपश्चिम
सुदूरपश्चिममा नयाँ सरकार गठनका लागि आह्वान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।
एकीकृत समाजवादीबाट मुख्यमन्त्री बनेका दीर्घबहादुर सोडारीले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि शुक्रबार आह्वान गरेका हुन् । मुख्यमन्त्रीमा आइतबार साँझ ५ बजेभित्र दाबी पेश गर्न समय दिइएको छ ।
प्रदेश प्रमुख कार्यालयका प्रवक्ता दीर्घराज भट्टले प्रदेश प्रमुखले संविधानको धारा १६८ को (२) उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार गठनका लागि आह्वान गरेको जानकारी दिए ।राजनीतिक समीकरण फेरिएपछि एमालेले २० असारमा सोडारी नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो ।
समर्थन फिर्ता लिएको ३०औँ दिनमा शुक्रबार मुख्यमन्त्री सोडारीले प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । लगत्तै सोडारीले प्रदेश प्रमुख नजिर मियाँलाई भेटेर राजीनामा पत्र बुझाएका थिए ।
कांग्रेस र एमालेबीच भएको भागबन्डा अनुसार सुदूरपश्चिम सरकारको नेतृत्व कांग्रेसले गर्ने भएको छ ।कांग्रेसमा मुख्यमन्त्रीका लागि पूर्वमुख्यमन्त्री समेत रहेका कमलबहादुर शाह, प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह बिष्ट र प्रकाशबहादुर देउवाले दाबी गरिरहेका छन् ।मुख्यमन्त्रीका चारैजना आकांक्षीसँग छुट्टछुट्टै छलफल गरेका सभापति देउवाले अहिलेसम्म निर्णय दिइसकेका छैनन् ।देउवाले दिने निर्देशनअनुसार अघि बढ्ने प्रदेश संसदीय दलले जनाएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्