कैलाली विशेष
कैलालीको गोदावरीमा पहिरो : ट्याक खुल्यो

धनगढी । धनगढी–डडेलधुरा सडकखण्डको कैलालीको गोदावरी नगरपालिका–४ मा पहिरोले भत्किएको सडकको ट्याक खोल्ने काम पूरा भएको छ ।सडक डिभिजन कार्यालय कञ्चनपुरका अनुसार साउन २२ गते राति आएको अविरल वर्षाका कारण आएको पहिरोले भत्किएको करिब चार सय मिटर सडकको ट्याक खोल्ने काम पूरा भएको हो ।पहिरोले बुढीतोलास्थित बाख्रा फार्मभन्दा करिब तीन सय मिटर दक्षिण अत्तरियातर्फ भावर भन्ने ठाउँको पहिरो सडक बगाएको थियो ।
सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर पिपूस चटौतले लगातार चार दिन लगाएर सो क्षेत्रमा सडकको ट्रयाक खोल्ने काम सकिएको भए पनि सवारी साधन भने चल्न सक्ने अवस्था नरहेको बताए ।ट्याक खुलेको भए पनि हिलाम्मे भएका कारण सवारी साधन चलाउन सक्ने अवस्था नरहेकाले सवारी साधन सञ्चालनमा रोक लगाइएका उनले बताए । ट्याक खोलेको सडक हिलाम्मे भएकाले ढुङ्गा भर्ने, ग्राभेल भर्ने काम भइरहेको पनि जानकारी पनि उनले दिए ।उनले भने, ‘‘हामीले ट्याक खोलेको सडकमाथि पानीको मूल रहेकाले सडक सुख्खा हुन पाएको छैन, पहिरो पछि सडकको माटो नै गिलो भएको छ । जमेको पानी निकाल्ने काम भए पनि हिलो भएकाले त्यो सुक्न केही दिन लाग्छ ।’’ट्रयाक खोलेको सडकमा मानिस हिँड्न सक्ने अवस्था पनि नभएको पनि उहाँले बताए ।
सडकमा ग्राभेल हाले पनि माटोमा पानीको मात्रा धेरै भएकाले माटोमै मिलेर हराउने गरेको पनि इन्जिनियर चटौतले बताए ।सो सडक भत्किदा तराईका कैलाली, कञ्चनपुर जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्लाको सडक सम्पर्क टुटेको छ ।उहाँका अनुसार पानी परे अझै पहिरो जाने सम्भावना छ । तर पानी परेन भने दुई दिनमा यातायातका साधन सञ्चालन हुने अनुमान गरिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्