अर्थ/बजार
बरामद सुन कार्टुनसहित १५५ किलो, ढुकुटीमा राखियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भई ट्याक्सीमा राखेर बाहिर लैजान लाग्दा बरामद गरिएको सुन ढुकुटीमा राखिएको छ । बुधबार बरामद गरिएको सुनलाई मुचुल्का उठाएर बिहीबार बबरमहलस्थित नेपाल राष्ट्र बैंकको मुद्रण व्यवस्थापन विभाग मातहतको टक्सार महाशाखाको ढुकुटीमा राखिएको हो ।राजस्व अनुसन्धान विभागको टोलीले सुन जिम्मा लगाएर फर्किएपछि टक्सार महाशाखाले ढुकुटीमा राखेको हो ।
ढकुटीमा राख्नुअघि सुनको तौल लिइएको छ । राजस्व अनुसन्धान विभागले लाहाछापा लगाएर ल्याएका आठ पोकाको तौल १५५ किलो ४६८ ग्राम रहेको नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग अन्तर्गतको टक्सार महाशाखाका निर्देशक थानेश्वर आचार्यले बताए ।उनका अनुसार वास्तविक सुन कति छ भनेर ब्रेक सुल निकालेर मात्र थाहा हुन्छ ।
अब विभागबाट पत्र आएपछिमात्र थाहा हुने उनको भनाइ छ । बेरिएको कपडा, कार्टुन, ब्रेक सुल निकालेर जोख्दामात्रै वास्तविक सुनको परिमाण आउने हो । त्यसो गर्दा सुन कम हुनेछ । रेडी ट्रेडलिंक बूढानीलकण्ठका नाममा हङकङबाट ल्याइएको उक्त सुन विमानस्थलको भन्सार जाँचपास भएर ट्याक्सीमा लैजान लागिएको अवस्थामा राजस्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हो । उक्त अवैध सुन ल्याउने कार्यमा संलग्न भएको आरोपमा ६ जना पक्राउ परिसकेका छनन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्