अर्थ/बजार
पुसका लागि तीन बैंकको ब्याज घट्यो, तीनको बढ्यो

काठमाडौँ । पुसका लागि केही बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएका छन् भने केहीले भने बढाएका छन् । जसअनुसार सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्ये १४ वटाले एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेका छन् ।तर, ३ वटाले निक्षेपको ब्याजदर सामान्य बढाएका छन् भने ३ वटाले घटाएका छन् । तर यही मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ०.०५ प्रतिशत विन्दुले बढेको देखिन्छ ।
यही मंसिरमा वाणिज्य बैंकको एक वर्षे मुद्दती निक्षेपको ब्याजदर औसत ५.९७ प्रतिशत रहेको थियो । पुसमा ०.०५ प्रतिशत बिन्दुले बढेर ६.०२ प्रतिशत बिन्दुमा पुगेको बैंकहरुले प्रकाशित गरेको ब्याजदर तालिकामा उल्लेख छ ।
मंसिरको तुलनामा पुसमा ब्याजदर बढाउनेमा एनएमी, प्राइम र कृषि विकास बैंक रहेका छन् । एनएमबीले ब्याजदर १.०३ प्रतिशत बिन्दुले बढाएर ६.६ प्रतिशत प्र्युाएको छ । प्राइम बैंकले ०.५ प्रतिशत बिन्दुले बढाएर ६.२५ पुर्याएको छ । यस्तै कृषि विकास बैंकले पनि ब्याजदर ०.०४ प्रतिशत बिन्दुले बढाएर ५.५७ प्रतिशत कायम गरेको छ ।मंसिरको तुलनामा पुसमा ब्याजदर घटाउनेमा एनआईसी एशिया बैंक, सानिमा बैंक र नेपाल बैंक रहेका छन् । एनआईसीले मंसिरको तुलनामा ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटाएर ६.६ प्रतिशत कायम गरेको छ । सानिमा बैंकले मंसिरको तुलनामा पुसमा ब्याजदर ०.१ प्रतिशत बिन्दुले घटाएर ६.०५ प्रतिशत कायम गरेको छ । नेपाल बैंकको ब्याजदर पनि मंसिरको तुलनामा पुसमा ०.३५ प्रतिशत बिन्दुले घटेर ५.६ प्रतिशत कायम भएको छ ।
राष्ट्र बैंकको निर्देशन अनुसार आउने महिनाका लागि बैंक तथा वित्तीय संस्थाले यो महिनाको मसान्तअघि नै ब्याजदर प्रकाशित गर्नुपर्छ । प्रकाशित ब्याजदर एक महिनासम्म परिमार्जन गर्न पाइँदैन । सोही निर्देशनका आधारमा बैंक तथा वित्तीय संस्थाले पुसका लागि निक्षेपको ब्याजदर घटाएका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्