समाचार
संघीय निजामती कर्मचारी सेवा ऐन तत्काल जारी हुनुपर्छ : पुर्वमन्त्री देउवा

धनगढी। सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाशबहादुर देउवाले संघीय निजामती कर्मचारी ऐन तत्काल आउनु पर्ने बताएका छन् । मंगलबार नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समितिद्वारा प्रकाशित भित्ते पात्रो विमोचन कार्यक्रममा बोल्दै सांसद देउवाले सो कुरा बताएका हुन् । संघीयता कार्यान्वयन भएको यतिका वर्ष वितिसक्दा पनि निजामती कर्मचारी ऐन नआउनु दुःखद भएको उनले बताए । उनले भने,‘पटक पटक सरकार गठन भइरहँदा पनि निजामती कर्मचारी ऐन नआउँदा प्रदेशका साथै स्थानीय तहका कर्मचारीको खटन पटनमा समेत गाह्रो भइरहेको छ ।’ अहिले तीनै तहको सरकारमा कांग्रेस नेतृत्वमा रहेको बताउँदै उनले भने,‘कांग्रेस नेतृत्वले नै ऐन जारी गराउनमा गम्भीरता देखाएको र प्रतिवद्ध रहेको छ ।’ प्रदेश सरकारले प्रदेश निजामती कर्मचारी ऐन जारी गरिसकेको हुँदा अब कार्यान्वयनमा जोड दिनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै देउवाले सुदूरपश्चिम प्रदेश सरकारले ल्याउन लागेको स्थानीय सेवा ऐन तत्काल जारी हुनुपर्ने बताएका छन् ।नेपाल निजामती कर्मचारी युनियनका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश अध्यक्ष धर्मबहादुर देउवाको अध्यक्षतामा भएको कर्मचारी युनियन प्रदेश भित्ते पात्रो विमोचन तथा शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री प्रकाशबहादुर देउवा रहेका थिए । कार्यक्रममा कांग्रेसका धनगढी उपमहानगरपालिकाका सभापति तथा भूमि आयोग कैलाली अध्यक्ष यज्ञराज उपाध्यायले कर्मचारी युनियन कांग्रेसका पुरानो सुभेच्छुक संस्था भएको र कठिनाईको समयमा पार्टीलाई सहयोग गर्दै आइरहेको बताए । उनले भने,‘आफू र आफू कार्यरत संस्थाका तर्फबाट कर्मचारीलाई हुने सहयोगमा कटिवद्ध रहेको पनि उनले बताए ।
कार्यक्रममा बोल्दै संघीय निजामती सेवा ऐन तत्काल जारी हुनुपर्ने बताउँदै केन्द्रीय उपाध्यक्ष तथा प्रदेश अध्यक्ष देउवाले भने,‘कर्मचारी ट्रेड युनियनको १० बुँदे माग तत्काल सरकारले सम्बोधन नगरे कर्मचारीहरु सडक आन्दोलनमा आउन बाध्य हुने छन् ।’ निजामती कर्मचारी ट्रेड युनियनले ७२ घण्टे अल्टिमेटम दिएको छ । साथै कर्मचारीहरुलाई आन्दोलनका लागि तयारी हुन पनि उनले आह्वान पनि गरे ।
कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियनका केन्द्र्रीय सदस्य कमलापति भट्ट, नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ (नेल्टा) का सुदूरपश्चिम अध्यक्ष लालबहादुर बोहरा, नेपाल निजामती कर्मचारी युनियन कञ्चनपुरका अध्यक्ष गणेश सिंह, कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका कैलाली अध्यक्ष विमलप्रकाश जोशीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा निजामती कर्मचारीका महाधिवेशन प्रतिनिधि नारदप्रसाद भट्टले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन नेपाल निजामती कर्मचारी युनियनका प्रदेश सह–सचिव जयराज ओझाले गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्