समाचार
झन्डै २७ टन राहत सामग्री म्यानमार पठाउँदै नेपाल

काठमाडौं । सरकारले म्यानमार सरकारलाई करिव २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको छ ।बुधवार नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरूसहितको टोलीले म्यानमार सरकारलाई करिब २७ टन बराबरको राहत सामग्री सहयोग गर्ने भएको हो । त्यसका लागि बुधबार राति नेपाली प्रतिनिधि मण्डल म्यानमार प्रस्थान गर्नेछ ।
नेपालबाट परराष्ट्र मन्त्रालयका उच्चपदस्थ कर्मचारीहरुले सहभागिता जनाउने र म्यानमारमा राहत सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको परराष्ट्रमन्त्री डा. आरजु राणाले जानकारी दिइन् । म्यानमारमा गत शुक्रबार ७.७ म्याग्निच्युडको भूकम्प जाँदा ३ हजार बढी मानिसको मृत्यु भएको थियो ।
भूकम्पबाट क्षतिग्रस्त म्यानमारलाई सरकारले आवश्यक परेका सामग्रीहरुको सूचि माग गरेको थियो । म्यानमारले उपलब्ध गराएको सूचिअनुसार खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु रहेको र आवश्यक राहत सामग्री उलब्ध गराउन लागिएको बताइन् ।
यसअघि नेपाली सेनाको चिकित्सकको टोली भने म्यानमारमा गइसकेको छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको र सोही सामग्री हस्तान्तरण गरिने जानकारी मन्त्री राणाले दिइन् ।
मन्त्री राणाले भनिन्, ‘हाम्रो राजदूतावास म्यानमारमा भएको हुनाले त्यहाँको सरकारसँग सम्पर्क गरेर केके सामान तपाईंहरूलाई चाहिन्छ भनेर लिस्ट ल्याउनुभएको थियो, त्यसमा खाद्यान्न, औषधिहरु, मेडिकल टिमहरु माग्नुभएको थियो ।’
मन्त्री राणाका अनुसार मेडिकल टिम नेपाली सेनाले पठाएको छ । ‘त्यो टिम अब दुई दिनपछि मात्रै फर्किन्छ । निजी क्षेत्र र सरकार मिलेर २७ टन सामग्री जम्मा भएको छ । नेपाल सरकारको तर्फबाट यो हस्तान्तरण गर्नेछौँ,’ उनले भनिन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले म्यानमार २०७२ सालमा नेपालमा गएको महाभूकम्पमा सहयोगी राष्ट्र रहेको र सरकारले पनि म्यानमारलाई राहत सामग्री पठाउन लागेको जानकारी दिए ।
उनले खाद्यपदार्थ, पकाउन चाहिने भाँडाकुँडा, मेडिसिनहरु, ब्लड ट्रान्सफ्युजन सेट, टेन्टहरु पठाउने जानकारी दिए ।उनकाअनुसार २७ मेट्रिक टन भन्दा बढीको सामान आज नेपाल सरकारले म्यानमार सरकारलाई पठाउँदैछ । यो भन्दा पहिला नेपाली सेनाको इमर्जेन्सी मेडिकल टिम म्यानमारमा गएर काम गरिरहेको छ ।
अहिले नेपाल सरकारको तर्फबाट लगभग १ करोड ४० लाखको राहत सामग्री पठाइने उनले जानकारी दिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्