समाचार
पश्चिम नेपालमा मेघगर्जनसहित वर्षा, हवाई उडानसमेत प्रभावित
काठमाडौं । पश्चिम नेपालका विभिन्न जिल्लाहरुमा अहिले मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । वर्षाका कारण हवाई उडानसमेत प्रभावित भएको छ ।रुकुमपश्चिमको सदरमुकाम मुसिकोट, सल्यानको सल्यान बजार, दाङको घोराही, बाँकेको नेपालगञ्ज, सुर्खेतको वीरेन्द्रनगर, दैलखको कट्टी, बर्दियाको गुलरिया, रोल्पाको लिवाङ र आसपासका क्षेत्रमा पानी परिरहेको छ ।केही समयपछि यो प्रणाली पूर्वतिर (लुम्बिनी र गण्डकी प्रदेशको पहाडी र तराई क्षेत्र )सर्दै जाने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।पछिल्लो तीन घण्टामा सबैभन्दा धेरै वर्षा दैलेखको कट्टीमा २०.६ मिलिमिटर वर्षा भएको छ । एक घण्टायता भने सबैभन्दा धेरै घोराही र सल्यान बजारमा ७।४ मिलिमिटर वर्षा मापन भएको छ ।जल तथा मौसम विज्ञान विभागका मौसमविदहरुका पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका जिल्लाहरुमा पानी परेको छ । गत २४ घण्टा अवधिमा सबैभन्दा धेरै वर्षा झापाको अनारमनीमा ७६.४ मिलिमिटर रेकर्ड भएको छ ।मौसम विज्ञान विभागले आज डडेलधुरा, दिपायल, पोखरा, काठमाडौं लगायत देशभरीका विभिन्न शहरमा मेघगर्जन र चट्याङ सहित पानी पर्ने सम्भावना रहेको जनाएको छ ।
हवाईजहाज डाइभर्ट
पानी परिरहेका कतिपय जिल्लामा डम्म कुहिरो समेत लागेकाले भिजिबिलिटी कम छ । खराब मौसमका कारण आज बिहान पश्चिम नेपाल केही एयरपोर्ट हवाई उडान समेत प्रभावित भएको थियो ।आज बिहान काठमाडौंबाट सुर्खेतका लागि उडेको बुद्ध एयरको जहाज नेपालगञ्ज डाइभर्ट भएको थियो । आज बिहान ८ः४० बजे काठमाडौंबाट उडेको सो जहाजले आकाशमा धेरैबेर फन्को लगाए नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।
यसैगरी काठमाडौंबाट उडेको श्री एयरलायन्सको हवाईजहाज पनि आकाशमा केहीबेर फन्को लगाएर मात्र नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो ।नेपालगञ्ज विमानस्थलका सूचना अधिकारी धिरेन्द्र रिजालले सुर्खेत जान लागेको एउटा जहाज नेपालगञ्ज विमानस्थलमा आएर करिब आधा घण्टा रोकिएको र पछि सुर्खेत नै प्रस्थान गरेको जानकारी दिए । उनका अनुसार प्रतिकूल मौसमका कारण केही उडानहरु डिले पनि भएका थिए ।
आज एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
आज दिउँसो कोशी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।साथै, कोशी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
मेघगर्जनरचट्याङ्ग, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने भन्दै विभागले आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्