धनगढी। बाजुराको खप्तड छेडेदहमा ुुजिउलेखी मष्टाुु ज्ञान विज्ञान धार्मिक महायज्ञ सुरु भएको छ । बिहीबारदेखि गाउँपालिकाको वडा नम्बर ४ मा रहेको खापर देवस्थली माध्यमिक विद्यालयमा धार्मिक महायज्ञ सुरु भएको हो । महायज्ञ आगामी २४ गतेसम्म सञ्चालन हुने खापर देवस्थली माविले जनाएको छ। महायज्ञमा सुदूरपश्चिम प्रदेश सभा सदस्य पदमबहादुर शाही, खप्तड छेडेदह गाउपालिका अध्यक्ष दील बहादुर रावत, जनप्रतिनिधिहरु, विद्यार्थी, शिक्षक तथा ठूलो संख्यामा श्रद्धालु भक्तजनको उपस्थिति रहेको थियो । महायज्ञ सुरु हुनुअघि जिउलेखी मष्टासम्म कलश यात्रा गरिएको थियो ।
धार्मिक महायज्ञ मूल समारोह समितिले खापर देवस्थली माविको विकास र जिउलेखी मष्टा प्रचारप्रसारका लागि पहिलोपटक महायज्ञ आयोजना गरिएको जनाइएको छ । महायज्ञमा भक्तियोग फाउण्डेशन नेपालका संस्थापक सञ्जेल जी महाराजले प्रवचन गर्ने छन् । महायज्ञ उद्घाटन समारोहमा खापरदेवस्थली माविका प्रधानाध्यापक चन्द्रबहादुर थापाले विद्यालयको विकासका लागि पहिलोपटक गरिएको प्रयासलाई सफल पार्न सहयोगको आग्रह गरे । खप्तड छेडेदह गाउँपालिका अध्यक्ष रावतले धार्मिक ज्ञान आर्जन र विद्यालयको विकासका लागि खापरदेवस्थली माविले गरेको पहिलो प्रयास उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।महायज्ञ उदघाटन समारोहमा खप्तड छेडेदह गाउँपालिका उपाध्यक्ष बिशु नाथ, त्रिवेणी नगरपालिका उपप्रमुख कमला न्यौपाने, नेपाल शिक्षक संघ बाजुरा अध्यक्ष प्रेमराज पाध्या लगायतले मन्तव्य व्यक्त गरेका थिए।
तपाइको प्रतिक्रिया दिनुहोस्