हामि संग जोडिनुहोस

समाचार

असुरक्षित बालिका एक पछि अर्को बलात्कार पछि हत्या

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२८
  • सुन्नुहोस् 
45  
Banner

धनगढि।कञ्चनपुरकी निर्मला पन्तको बलात्कार पछि हत्या गरिएको घटना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चर्चित बन्यो । उक्त घटना पछि राज्यका कमजोरी उदाङ्गो भए भने धेरैलाई यस घटनाले सचेत बनायो । तर, १३ वर्षीय बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको ६ वर्ष बितिसक्दा पनि न अहिले सम्म निर्मलाका हत्यारा पक्राउ परेका छन् भने न समाजमा यस्ता घटना रोकिएका छन् ।

२०७५ साउन १० गते भएको निर्मला पन्तको घटना सेलाउन नपाउँदै २०७७ माघ २२ गते बैतडीकी १७ वर्षीय भागरथी पन्तको पनि बलात्कार पछि हत्या भएको थियो भने पछिल्लो पटक उस्तै प्रकृतिको क्रूर घटना डडेल्धुरामा पनि घटेको छ ।अमरगढी नगरपालिका–७ पोखरा बजारकी १४ वर्षीय बालिका आरती भट्टराई हत्या गरेर प्लास्टिकको बोरामा बेरिएको अवस्थामा शव फेला परेको छ । बिहीबार दिउँसो बजे घरबाट मिल गएकी आरतीको शुक्रवार प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो ।डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएको थियो । प्रहरीले किशोरी हत्या आरोपी सार्वजनिक गरिसकेको छ । आरतीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले आइतबार अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारीलाई सार्वजनिक गरेको छ । भण्डारी पोखरा बजारमा रहेको भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालक पनि हुन ।भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक९डिएसपी० सुगन्ध श्रेष्ठले बताए । उनका अनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सबुत प्रमाण फेला पारेको जनाउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको जनाएको छ । भण्डारीले पुरानो चिनजान भएकी आरतीलाई पसलमा कुराकानीकै क्रममा बिहीबार हत्या गरेर शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी बिहीबार राति घटनास्थलमा पुगेका थिए ।शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकल सहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिँडेका थिए । प्रहरीले भण्डारीले प्रयोग गरेको म १ प १४५४ नम्बरको मोटरसाइकल फेला पारेपछि अनुसन्धानका क्रममा भण्डारीलाई नियन्त्रणमा लिएको थियो । बिहीबार दिउँसो ४ बजे घरबाट मिल गएकी आरती घर नफर्किएपछि परिवारले खोजी गर्दा शुक्रवार बिहान प्लास्टिकमा बेरिएको अवस्थामा शव फेला परेको थियो ।

यसैबिच बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १७ वर्षीय किशोरी पनि शुक्रवार देखि बेपत्ता छिन । ती किशोरीलाई भने रक्षक भनिने प्रहरीबाट बेपत्ता पारिएको आरोप लागेको छ ।महाकाली प्रहरी चौकी डिम्बरका इन्चार्ज एवं प्रहरी हवलदार कृष्णराज जोशीले नै किशोरीलाई बेपत्ता पारेको भन्दै स्थानीय आन्दोलित भएका छन् । प्रहरी हवलदार जोशीले किशोरीलाई बेपत्ता बनाएका पर्याप्त प्रमाणहरू हुँदाहुँदै पनि किशोरीको अवस्था अझै पत्ता नलाग्नु झनै शङ्काको कुरा भएको किशोरीका आफन्त प्रेम सिंह मंगोलाले बताए । प्रहरी चौकीबाटै यस्ता जघन्य घटना भएको भन्दै प्रहरी चौकीको समेत औचित्य नभएको उनीहरूले बताएका छन् ।किशोरी बेपत्ता पारेको आरोपमा प्रहरी हवलदार जोशीलाई स्थानीयले नै नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए । शुक्रवार बिहान साढे ४ बजेको समयमा पानी भर्न जान्छु भन्दै घरबाट गएकी किशोरी अबेरसम्म सम्पर्कमा नआएपछि खोजी भएको थियो । किशोरीले पानी भर्न लगेको ग्यालेन प्रहरी चौकी नजिकै फेला परेको थियो । प्रहरी हवलदार जोशीलाई भाग्दै गरेको अवस्थामा भेटेपछि स्थानीयहरूले महाकाली पारीको भारत पट्टीबाट नियन्त्रणमा लिएर दाम्लोले बाधेका थिए ।


तपाइको प्रतिक्रिया दिनुहोस्