साहित्य
झ्याउरे लयमा ...

हे मेरी आमा के पायौ छोरा बनाउन विदेशी ।
को जान्थ्यो विदेश मेरो यो देशमै भविष्य भएसी ।।
न पैसा मेरो न भयो शक्ति पाउन रोजगारी ।
विदा देउ भन्छ यो तिम्रो छोरो ति आँशु नझारी ।।
पुगेछु भने के गरी खाडी फेर्नेछु त्यो चोलो ।
एक दिन आउँछ संसार सबै भन्छनि छ गोलो ।।
कोहीले बेच्ने कोहीले किन्ने नेपाल आमालाई ।
अकालमै मरे बचाउन खातिर ति मेरा दाजुभाइ ।।
मारेकै थिए हटाउन राजा हे आमा वीर छोरा ।
ल्याएर पनि यो गणतन्त्र भाषण त छन् कोरा ।।
सत्तामा पुग्न मर्ने र मार्ने आमाको काख खाली ।
के चाहियो अब भन ए बाबु गणतन्त्रलाई फाली ।।
चल्दैन बन्दुक देशैका रक्षक मार्दा त कसैले,
गोली नै खाए यी मेरा छोरा बोल्दा त अहिले ।।
न राम्रो शासन न छोरा रह्यो न मलाई जोगायौँ ।
भन ए दलाल भ्रष्टाचारी को बाट के पायौ ।।
हुँदैन शान्ति नगए सम्म बुद्धको बाटोमा ।
के अत्याचार गर्दैछौं अहिले यो मेरो माटोमा ।।
तपाइको प्रतिक्रिया दिनुहोस्