हामि संग जोडिनुहोस

समाचार

फूलवारीका छाडा पशु चौपायालाई मंसिरदेखि गौशालामा व्यवस्थापन गरिदै

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-७-१०
  • सुन्नुहोस् 
1.38K  
Banner

धनगढी । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिकाको फूलवारी क्षेत्रमा रहेका छाडा पशु चौपायालाई मंसिरदेखि गौशालामा व्यवस्थापन गरिने भएको छ । उपमहानगरपालिकाको वडा नम्वर १४,१८ र १९ का सडकमा अलपत्र अवस्थामा रहेका पशु चौपायालाई धनगढी १८ फूलवारी स्थित तुलसीवारीमा निर्माण गरिएको गौशालामा व्यवस्थापन गरिने भएको हो । 

धनगढी उपमहानगरपालिकाको आर्थिक सहयोगमा हाम्रो गौशाला फूलवारीले निर्माण गरेको गौशालाको वरिपरि घेरवार लगाउने काम यहि कात्तिक मसान्तभित्र सम्पन्न गरेर मंसिरदेखि छाडा पशुचौपाया व्यवस्थापन गरिने संस्थाका सचिब यादब भण्डारीले जानकारी दिए । 

लामो समयदेखि धनगढी उपमहानगरपालिकामा रहेका छाडा पशु चौपायाको व्यवस्थापन गर्ने उपमहानगरपालिकाको अभियान अन्र्तगत धनगढी १४,१८ र १९ का सडकमा छोडिएका छाडा पशु चौपायाको दिगो र बैज्ञानिक व्यवस्थापनका लागि आर्थिक बर्ष २०७९र८० मा उपमहानगरपालिकाको ५० लाख सहयोग र १० लाख ६९ हजार जनश्रमदानबाट दुईवटा टहरा निर्माण गरिएको भण्डारीले बताए । 

गौशालाको बाँकि काम सम्पन्न गर्न उपमहानगरपालिकाले चालु आर्थिक बर्ष २०८० र ८१ मा १ करोड बजेट बिनियोजन गरेको छ । दुई चरणमा टेण्डर सम्झौता भएर काम अगाडी बढिसकेको सचिब भण्डारीको भनाई छ ।  गौशालाको करिब ३ बिघा जमिनमा तारबार सहितको घेरबारको काम कात्तिक मसान्त भित्र सकेर मंसिर देखि गाई व्यवस्थापनको काम गरिने भण्डारीले जानकारी दिए । 

धनगढीका तीनवटा वडा १४,१८ र १९ का प्रत्येक घरमा भएका पशु चौपायाको कात्तिक मसान्तभित्र अभिलेखिकरण गरिने बताइएको छ । तीनवटै वडाका प्रत्येक घरमा कति घरपालुवा पशुचौपाया छन् र कति छाडा छन् त्यस्को यकिन तथ्याङक संकलन गरेर मात्र छाडा पशु चौपायालाई गौशालामा व्यवस्थापन गरिने सचिब भण्डारीले बताए । उनले भने,कुन घरमा कति चौपाया छन् त्यसको अभिलेख वडाले राख्छ । पशु खरिद बिक्रि गर्दा र बच्चा जन्मिँदा वा मृत्यु हुदाँ वडालाई जानकारी गराइ अभिलेख राख्न लगाइने नियम बनाउँछौ ।  

मंसिरदेखि चौपायालाई गौशालामा व्यवस्थापन गरिदै लगिने भएकाले सडकमा चौपाया नदेखिने र जनताको बालीनाली सुरक्षित रहने भण्डारीको भनाई छ ।  फूलवारीका सडकमा अलपत्र रहेका सम्पुर्ण पशुलाई व्यवस्थापन गर्ने काम भइरहेकाले संस्थाको सदस्यता लिएर सहयोग गरिदिन सचिब भण्डारीले सबैलाई अनुरोध गरे । हाम्रो गौशाला फूलवारी संस्थाको आजिवन सदस्य बन्न ५५ सय र साधारण सदस्य हुन बार्षिक २०० तिर्नुपर्ने छ । 


तपाइको प्रतिक्रिया दिनुहोस्