हामि संग जोडिनुहोस

सुदूरपश्चिम

शुक्लाफाँटा निकुञ्ज पर्यटकका लागि खुला

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-७-६
  • सुन्नुहोस् 
156  
Banner

महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । बिहीबारदेखि निकुञ्ज प्रशासनले पर्यटकका लागि खुला गरेको हो । सिजन सुरु भएको केही समय ढिलो गरी यसबर्ष निकुञ्ज पर्यटकका लागि खुला गरिएको हो ।

दसैंका बेला देशविदेशबाट घर फर्किएकाहरु घुमफिरमा रमाउने गर्छन् । यही बेला शुक्लाफाँटामा पनि पर्यटकको संख्या बढ्ने गरेको छ । समयमै निकुञ्ज खुला नहुँदा पर्यटक फर्किनुपर्ने बाध्यता पनि आएको थियो ।‘बिहीबारदेखि निकुञ्ज पर्यटकका लागि खुला भएको छ,’ निकुञ्जका संरक्षण अधिकृत मनोज ऐरले भने, ‘बाढीले सडक र काठे पुलहरु बगाएका कारण ढिलो गरी खुला भएको हो ।’ असार अन्तिम साताको भीषण वर्षासँगै आएको बाढीले निकुञ्जका डेढ दर्जन काठेपुल बगाएको ऐरले बताए ।

ऐरका अनुसार अहिले पनि एकतर्फी बाटो मात्रै सञ्चालनमा आएको छ । निकुञ्जको प्रवेशद्वार मझगाउँदेखि बर्कौला हुँदै शुक्लाफाँटा घाँसे मैदान पुग्ने बाटो अझै मर्मत हुन सकेको छैन । मझगाउँदेखि रानीताल हुँदै सिंहपुर भएर शुक्लाफाँटा घाँसे मैदान पुग्ने बाटो भने जेनतेन सुचारु गरिएको हो । अघिल्ला वर्ष बर्खा सकिने बित्तिकै असोज पहिलो सातातिर बाटै निकुञ्ज पर्यटकका लागि खुला गरिँदै आएको थियो ।

३ सय ५ वर्गकिलोमिटर क्षेत्रफल रहेको निकुञ्ज बाह्रसिंगाका लागि चिनिन्छ । निकुञ्जका विशाल शुक्लाफाँटा घाँसे मैदानमा २३ सय बढी बाह्रसिंगा रहेका छन् । निकुञ्जले गरेको पछिल्लो गणना अनुसार यहाँ बाघको संख्या ४४ पुगेको छ । सन् २०२२ मा भएको पछिल्लो राष्ट्रिय गणनामा यहाँ बाघको संख्या ३६ पुगेको थियो ।

यतिबेला निकुञ्जको ५४ वर्गकिलोमिटर क्षेत्रमा रहेको विशला घाँसे मैदानमा घाँस चर्दै गरेका बाह्रसिंगाको झुण्डले जो कोहीलाई पनि लोभ्याउने गर्छ । पर्यटकका लागि बनाइएका तीन तले मचानबाट यो दृश्य झनै लोभ लाग्दो देखिन्छ । यसका साथै बाघ र गैंडलगायतका वन्यजन्तु समेत देख्न सकिन्छ ।दसैंदेखि तिहारको बीचमा निकुञ्जमा आन्तरिक पर्यटकको संख्या बढ्ने गरेको छ । यतिबेला कैलाली र कञ्चनपुर लगायतका क्षेत्रबाट स्थानीय निकुञ्ज घुम्न आउने गरेका छन् । गत आर्थिक वर्षमा निकुञ्जमा ३ हजार ६७ पर्यटक प्रवेश गरेका थिए । जसमा विदेशीको संख्या २५० मात्रै छ ।अघिल्लो आर्थिक वर्षमा निकुञ्ज प्रवेश गर्ने पर्यटक २७ सय २९ छन् । प्रचार प्रसारको अभावका कारण निकुञ्जमा घुम्न आउने पर्यटकको संख्या निकै कम छ । अझै विदेशी पर्यटकको संख्या झनै कम छ । सामान्यतया वर्षायाम सुरु भएसँगै निकुञ्ज पर्यटकका लागि बन्द हुने गरेको छ । यस वर्ष असार १७ देखि बन्द गरिएको थियो ।


तपाइको प्रतिक्रिया दिनुहोस्