हामि संग जोडिनुहोस

समाचार

बोक्सीको आरोपमा महिलामाथि कुटपिट

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-९-९
  • सुन्नुहोस् 
240  
Banner

धनगढी । कैलालीको भजनी नगरपालिकामा एक युवतीमाथि बोक्सीको आरोपमा अभद्र व्यवहार र र्निघात कुटपिट गरिएको छ। ३० वर्षीय महिलालाई गाउँलेहरूको समूहले पुस ४ गते घरबाट तान्दै कुटपिट गरेको घटना बाहिरिएको हो । कुटपिटपछि अचेत अवस्थामा रहेकी उनलाई आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार सम्भव नभएपछि अहिले धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ । उनि मानसिक रूपमा विक्षिप्त बनेकी छन् ।उपचारमा संलग्न चिकित्सक विदुरमणि ढकालका अनूसार कुटपिटले मांसपेशीमा नराम्रोसँग असर परेको बताएका छन्  । रगतमा इन्फेक्शन हुन सक्ने र मुटुमा पनि असर पुग्न सक्ने भएकाले केही दिन निगरानीमा राखेको डाक्टर ढकालले जानकारी दिए । पीडित महिलाकी आमाका अनुसार गाउँकै भलमन्सा लालबहादुर चौधरी र गुरुबाको आदेशमा गाउँलेहरूले उनलाई बोक्सी भन्दै कुटेका हुन् । त्यसअघि पनि उनलाई कुटपिटमाथि भएको थियो । उनकी आमाले भनिन्, ‘गाउँलेहरू पुस १ गते राति घरमा आए । राति ८ बजे आएका गाउँलेले घरमै कुटपिट गरेका थिए । पीडितकी आमाका अनुसार गाउँलेहरूले ‘म बोक्सी हुँ, गल्ती गरेँ, माफ गर’ भन्न लगाएका थिए । तर छोरीले ‘म बोक्सी होइन, किन माफी माग्ने’ भनेपछि कुटपिट गरेको उनले सुनाइन् ।बेहोस भएपछि बचाउन गएका उनका भाइलाई पनि गाउँले कुटपिट गरेका छन् । यहाँसम्म कि बोक्सीको सन्तानलाई सिध्याउनुपर्छ भन्दै गाउँलेहरूले पीडितका छोरालाई समेत कुटपिट गरेको परिवारको आरोप छ । पीडित महिलाका पाँच र दुई वर्षका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।  कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिए पनि दुई जनालाई अझै नियन्त्रणमा लिइएको छैन । इलाका प्रहरी कार्यालय भजनीका प्रमुख तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन् । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्