राजनीति
माओवादी स्थायी समिति बैठकमा पूर्वउपराष्ट्रपति पुन पनि सहभागी
काठमाडौं । नेकपा (माओवादी केन्द्र) स्थायी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरअघि बैठक सुरु भएको हो ।बैठकमा आगामी २१ पुसदेखि सुरु हुने केन्द्रीय समिति बैठकको तयारी हुने बताइएको छ ।आजको बैठकमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन पनि सहभागी भएका छन् । पुन यसअघि पनि माओवादीका बैठकहरूमा सहभागी हुँदै आएका थिए ।तर, पार्टी बैठकमा सहभागी भएका तस्वीरहरू सार्वजनिक गरिएको थिएन । आजको बैठकमा पुन सहभागी भएका तस्वीर अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सार्वजनिक गरेको छ ।माओवादीका नेताहरूका अनुसार पुनलाई माओवादीले उपाध्यक्ष बनाउने तयारी गरेको छ ।नन्दकिशोर पुन नेपालको दोस्रो र तेस्रो उपराष्ट्रपति हुन् । ७ वर्ष उपराष्ट्रपतिको भूमिका निर्वाह गरेका नन्दकिशोर पार्टी राजनीतिमा सक्रिय हुन खोजिरहेका छन् । उनकै चाहनाअनुसार पार्टीले भूमिका दिन खोजिएको माओवादी नेताहरू बताउँछन् ।यसअघि नन्दकिशोरलाई पार्टीको भूमिका दिने विषयमा विधानको व्यवस्था अध्ययन गर्नेगरी माओवादीले उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा कार्यदल नै बनाएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्