धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को संसदीय दलले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । प्रदेश संसदीय दलको शुक्रबार बसेको बैठकले कमलबहादुर शाह नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको दल नेता घनश्याम चौधरीले बताए ।
‘आज दलको बैठक बसेको थियो,’ उनले भने, ‘बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । अब हामी प्रतिपक्षमा बस्छौं ।’ शुक्रबार बसेको दलको बैठकमा दल नेता चौधरीसंगै प्रदेशसभा सदस्यहरु इन्दिरा गिरी, रामेश्वर चौधरी र टीका थापा सहभागी थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट उद्योग पर्यटन वन तथा वातावरणमन्त्री भएका रामेश्वर चौधरीलाई बिहीबार मुख्यमन्त्री शाहले बर्खास्त गरेका थिए । आफ्ना मन्त्रीलाई अनावश्यक आरोप लगाएर बर्खास्त गरिएको भन्दै नाउपाले त्यसको विरोध गर्दै आएका छ ।
नागरिक उन्मुक्तिले समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाह अल्पमतमा भने पर्ने छैनन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ । सरकारको नेतृत्व गरिरहेको काँग्रेसका १८ र सत्ता साझेदार एमालेका ११ प्रदेशसभा सदस्य छन् ।
यता नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पनि आफ्नो दल आजदेखि संघ र प्रदेशमा प्रतिपक्षमा बस्ने बताएकी छिन् । ‘सुदूरपश्चिम प्रदेशमा हाम्रो पार्टीका मन्त्रीलाई कुनै औपचारिक संवाद, कारण वा प्रक्रिया विना हटाइएको असंवैधानिक मात्र नभई अपमानजनक र अत्यन्त दुर्भाग्यपूर्ण छ,’ उनले भनेकी छिन्, ‘हामी यो कदमलाई सत्ता घमण्ड, मनपरी र लोकतान्त्रिक मूल्यमाथिको अपमानको रूपमा लिन्छौं । नागरिक उन्मुक्ति पार्टी अब प्रतिपक्षको भूमिकामा बस्ने निर्णयमा पुगेको छ ।’
तपाइको प्रतिक्रिया दिनुहोस्