हामि संग जोडिनुहोस

स्वास्थ्य

यस्ता छन् दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८१-६-२१
  • सुन्नुहोस् 
198  
Banner

डा. ढुण्डीराज पौडेल /दशैंमा मासुजन्य परिकारको उपयोग धेरै हुने गर्छ । अन्यबेला कुखुराको मासु खाने गरे पनि दशैंमा गच्छेअनुसार मासुका लागि खसी, बोका, च्याङ्ग्रा, राँगा, बंगुर काटिन्छन् ।

दशैंमा रातो मासुसँगै अल्कोहलको सेवन पनि ज्यादा नै हुन्छ । मासु प्रोटिनको सर्वोत्तम स्रोत हो, जहाँ आवश्यक सबै एमाइनो एसिड प्रचुर मात्रामा पाइन्छ । मस्तिष्कको विकासमा मासुको भूमिका रहेको अनुमान गरिएको छ ।

खास चाडपर्वमा मात्रै ज्यादा मासु खानु फाइदाजनक होला त र ?

यो सवालको निरुपण गर्नुअघि हाम्रो खाना र पोषण पद्धतिबारे जानकारी राख्नु उपयुक्त हुनछ । हामीले सेवन गर्ने सबै प्रकारका खाद्यपदार्थ पाचन प्रणालीको माध्यमबाट टुक्राएर आन्द्रामा शोषित भई विभिन्न  पोषण तत्वहरुमा परिणत हुन्छन् ।

ती पोषण तत्व तत्कालै ऊर्जाका लागि खर्च भई बाँकी ग्लाइकोजनको रुपमा बोसोको रुपमा जम्मा हुने  कार्बोहाइड्रेट ९स्टार्च, ग्लुकोज०, आन्तरिक शारीरिक अवयवहरुको निर्माण र जैविक पद्धतिका लागि आवश्यक प्रोटिन, फ्याट तथा शारीरिक प्रक्रियामा अपरिहार्य भिटामिन, मिनरल्सका अणु गरी चार प्रकारका हुन्छन् ।

भिटामिनहरु तत्काल आवश्यक नपर्ने र मूत्र पद्धतिबाट उत्सर्जित हुने पानीमा घुलनशील र जम्मा भई रहने फ्याटमा घुलनशील गरी दुई प्रकारका हुन्छन्, बोसो अर्थात् फ्याट पूर्ण र अपूर्ण । फ्याटका अणुमध्ये कुनै फाइदा पुर्‍याउने उच्च र हानि पुर्‍याउने बढी घनत्वका हुन्छन् । यस्तो बोसो पनि भुँडीमा रहेको केन्द्रित र परिधीय हुन्छ । कम शारीरिक परिश्रम अनि बढी खानाको मात्रा र अणुवंशिक कारण पनि भुँडीमा बढी बोसो जम्मा हुने गर्छ ।

पानी त उपयुक्त मात्रामा पिउनु अपरिहार्य छँदैछ । पानी खाना सँगै पिउँदा पाचन प्रणालीमा नकारात्मक असर पर्छ । त्यसैले पानी एवं उपलब्ध भए फलफूलको सलाद या जुस पिउनु फाइदाजनक हुन्छ । तर खाना खाने बित्तिकै पानी पिउँदा पाचन प्रक्रियामा नकारात्मक प्रभाव पर्छ ।

दशैं, तिहार जस्ता चाडपर्वमा मासु जस्ता प्रोटिन, बोसो  र उच्च क्यालोरीयुक्त परिकारको सेवनमा वृद्धि हुन्छ । ऋणधन गरेरै भए पनि उच्च बोसो एवं क्यालोरीयुक्त खसी, बोका, राँगा जस्ता चारखुट्टे जनावरको दशैंमा काट्ने चलन छ । सो प्रयोजनका लागि कैयौं दिन लगाएर भारतबाट समेत ट्रकमा लादेर सकस साथ  राँगाभैंसीहरुलाई भारतबाट एवं बोका(च्यांग्राहरु चीनबाट समेत आयात गरिन्छन् ।

मासुको सेवन गर्ने मात्रा व्यक्तिको जीवनशैली, शारीरिक श्रम, रगतमा कोलेस्टेरोलको मात्रा, मिर्गौला, कलेजो, मुटुदेखि शरीरको वजनमा पनि निहित हुने गर्छ ।

उदाहरणका रुपमा शारीरिक परिश्रम नगर्ने नेपाली कदको एउटा वयस्क व्यक्तिलाई सालाखाला दैनिक रुपमा १६०० देखि २००० क्यालोरी ऊर्जाको जरुरत पर्छ । त्यसबाहेक सामान्य हिंडडुल गर्ने, ज्यादा नै हिंड्ने, गह्रौं काम या मांसपेशीको व्यायाम गर्नेलाई सोही अनुसारको क्यालोरी सहित प्रोटिनको पनि जरुरत पर्छ । एक ग्राम कार्बोहाइड्रेट र प्रोटिनबाट चार क्यालोरी र एक ग्राम चिल्लो पदार्थबाट करिब आठ क्यालोरी ऊर्जा प्राप्त हुन्छ ।

हामीलाई चाहिने ऊर्जाको करिब आधाजति भाग तरकारी, फलफूल, बोक्रासहितको अन्न गेडागुडीबाट लिनु उपयुक्त हुन्छ । सकभर सेतो चामल, चिनी, आलु, मिठाई सेवन नगर्नु नै उपयुक्त हुन्छ । अहिले मांसपेशी निर्माणका लागि भन्दै लो कार्ब,जिरो कार्ब आदिको कुनै औचित्यता छैन ।

मासुको सम्बन्धमा रातो, छाला र बोसोसहितको भन्दा छाला नभएको कुखुराको मासु, माछामा क्यालोरी कम र चिल्लो कोलेस्टेरोलको मात्रा पनि कम हुन्छ । सामान्यतया दैनिक ७० ग्राम भन्दा कम रातो मासुको सेवन श्रेयस्कर हुन्छ । बोसो नभएको कुखुराको मासु, माछा शारीरिक आवश्यकता अनुसार खान सकिन्छ ।

वजन र कोलेस्टेरोलको मात्रा दुवै उच्च छ भने मासुसँगै दानायुक्त अन्न, गेडागुडी, खैरो रोटी, फलफूल खानु उपयुक्त हुन्छ । चाडपर्वमा मासुसहित अल्कोहलजन्य पेय पदार्थको सेवनमा वृद्धि हुँदा शरीरमा आकस्मिक एवं दीर्घकालीन स्वास्थ्य समस्या पैदा हुने गर्छन् । दशैंपछि आउने तिहारमा पनि चामल, चिनी, घिउ र तेलमा तयार गरिने परिकारका साथै मासुको प्रयोगमा वृद्धि हुन थालेको छ ।

चामल, चिनी जस्ता वस्तुमा कार्बोहाइड्रेट वा ग्लुकोजको मात्रा बढी हुन्छ, जुन तत्कालै शारीरिक कार्य सम्पादनमा आवश्यक पर्ने ऊर्जामा खर्च हुन नसके बोसोको रुपमा परिणत हुन्छ । बोसो अर्थात् भुँडी बढ्नु, रगतमा बोसोको मात्रा बढ्नु, सुगरको मात्रा बढ्नु हो । अझै तयारी खाजा, जंकफुड, मिठाई, बिस्कुट आदिमा प्रयोग हुने ट्रान्सफ्याटले त बोसोमा वृद्धि ल्याई मधुमेह(२ को सम्भावना रहन्छ ।

विभिन्न प्रकारका रङ लगायत अखाद्य वस्तु मिसाइएका विभिन्न प्रकारका मिठाइमा प्रयोग गरिने  ट्रान्सफ्याट लगायत वस्तुले स्वास्थ्यका लागि हानिकारक छन् । रक्तसञ्चार प्रवाहमा अवरुद्धता, मुटुरोग जस्ता रोगका कारण बन्न सक्छ ।त्यसैले मासुसँगै गुलिया वस्तुको बढ्दो प्रयोगबाट आर्थिक  एवं स्वास्थ्यमा  समेत  सकारात्मक भन्दा  नकारात्मक प्रभावबारे सचेत हुन आवश्यक छ ।

मासुका लागि जनावरको स्वास्थ्य परीक्षण

बहुसंख्यक रोग या त जेनेटिक ९आणुवंशिक० या जुनोटिक कारणले लाग्छन् । मानिसहरुले विकासको क्रममा घरपालुवा बनाइएका जंगली जनावरको उपयोग या संसर्गबाटै सरेका हुन् । कति विषाणुहरु जनावरबाट मान्छेमा सरेपछि उत्परिवर्तित ९म्युटेसन० भएर अर्को मानिसमा समेत सर्न सक्छन् । त्यसैले मासुको प्रयोग गर्नुअघि जनावरहरुको पूर्ण परीक्षण हुन आवश्यक छ ।

मासु सेवन गर्दा अपनाउनुपर्ने सावधानी

राम्रोसँग नपकाइएको, नउसिनिएको, नगलाइएको, पोलेको मासु दाँत नचपाइकन होसियारीपूर्वक नखाँदा श्वासनलीमा पुग्ने वा खानानलीमा अड्किने सम्भावना हुन्छ । अझै दाँतको विकास भइनसकेका बालबालिकादेखि दाँत नै झरेर कृत्रिम दाँत लगाएका व्यक्ति र वृद्धवृद्धालाई मासु खान दिंदा टुक्राएर नरम बनाइर मात्रै खान दिनुपर्छ ।

राम्रोसँग नपकाइएको, नकाटिएको, राम्रोसँग नचपाइकन र त्यसमाथि अल्कोहलसँग कुराकानी गर्दै हतार हतारमा निल्न खोज्दा सर्केर श्वासनलीमा पुगी गम्भीर आकस्मिक स्वास्थ्य समस्या समेत आउन सक्छ ।

हानिकारक र अनावश्यक भोजनले पार्न सक्ने आन्तरिक क्षतिलाई परिपूर्ति गर्न सकिन्न । त्यसैले चाडपर्वको खानपिनले पार्न सक्ने आर्थिक एवं शारीरिक असरलाई न्यूनीकरण गर्न आवश्यक छ ।यो सामाग्री हामीले अनलाइन खबरबाट साभार गरेका हौँ ।


तपाइको प्रतिक्रिया दिनुहोस्