मनोरञ्जन
गौरा पर्वको मुख्य दिन ‘अठेवाली’
अत्तरिया ।आज गौरा पर्वको महत्वपूर्ण दिन अष्ठमी अर्थात अठे वाली धुमधामका साथ मनाइँदै छ । आजको महिलाहरुले बिहानै खोला तलाउमा स्नान गरी घाँसबाट निर्मित गौरादेवीको प्रतिमा र काठको महेश्वरको प्रतिमालाई गौरा घरबाट बाहिर आगनमा ल्याई शङ्गार गरी सगुन गीत गाउँदै टाउकोमा राखेर महिला नाच्ने गर्दछन् ।गौराको पहिलो दिन पाँच अन्न भिजाएर बनाएको बिरुडा गौरादेवीको पूजाआजा गर्न प्रयोग हुन्छ । अठेवालीका दिन बिरुडालाई घरमा लगेर पकाएर खाने पनि गरिन्छ । पहिले गाउँका प्रतिष्ठित व्यक्तिका घरमा सामूहिक रुपमा बिरुडा भिजाउने चलन थियो । अहिले सुविधाका लागि गौरा मन्दिर, सगोल तथा घर–घरमा भिजाउने गरिन्छ ।
हिमालयकी छोरी पार्वतीले भगवान शिवलाई पति पाउन गौरादेवीको निराहार व्रत बसेको किंबदन्तीका आधारमा गौरा मनाउने गरिएको हो । पार्वतीले शिव पति पाएझैं अविवाहित युवती शिवझैं पति पाउन भनी व्रत बसेको अठेवालीका दिन गौरादेवीको प्रतिमा टाउकोमा राखेर नचाउने गर्छन् भने पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्ने गर्छन् । धुमारी र ढुस्को ठाडो खेलमा महाभारत, रामायणसहित धार्मिक ग्रन्थमा आधारित कथा भन्ने गरिन्छ ।
बिरुडा भिजाएर शुरु हुने गौराको बिसर्जन नहुँदासम्म महिला र पुरुष सबैले धुमधामसँग मनाउने गर्छन् । भिजाएको बिरुडालाई षष्ठीका दिन नजिकैका पँधेरा वा इनारमा सगुन गाएर धुने गरिन्छ । त्यसपछि ती बिरुडालाई पुनः भिजाएको ठाउँमा राखिन्छ । सप्तमीका दिन अविवाहित युवतीले खेतबारीबाट धान, साऊँलगायतका बोटबाट गौरीको प्रतिमा बनाएर डालोमा राखेर गौरा घरमा भित्र्याउने गर्छन् ।गौरीको प्रतिमासँगै पहेँलो कपडाले बेरिएको काठको पिर्कालाई शिवको प्रतिक मानेर राख्ने गरिन्छ । यस बेलामा दुबधागोलाई पूजाआजा गरी गौरीको प्रतिमा चढाउने गरिन्छ । यस बेलासम्म महिला निराहार हुन्छन् र कसैले फलाहार गर्छन् । यसअघि महिलाले आफ्ना पति र सन्तानको दीर्घायुको कामना गर्दै बिरुडाले पूजा गर्छन् ।अठेवालीपछि गौरीको प्रतिमा राखिएको डालोलाई टाउकोमा राखेर नाच्ने गरिन्छ । गौरा नचाएको बेलामा अन्य महिलाले सगुन गाएर अक्षता र फूलले पूजा गर्छन् । स्थानीय भाषामा गौरीको प्रतिमालाई लली घुमारा भनिन्छ । अठेवालीका दिन महिला र पुरुष छुट्टाछुट्टै गौरामा रमाउँछन् । पुरुषहरुले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने गर्छन् । धामी झाँक्रीलाई खुशी बनाउन अठेवालीका दिन पुरुषले विशेष गरी देवताका गाथा समेटिएका खेलमा रमाउँछन् ।महिलाले गौरालाई नचाएपछि साँझतिर डालोभित्र राखिएका फलफूल तथा बिरुडालाई सफा कपडामा दुई पुरुषले आकाशमा फाल्ने गर्छन् । यसलाई फल फड्काउने भनिन्छ । त्यो फल आकाशमा चुम्यो भनेपछि चिताएको मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । अठेवालीका दिन पुरुषले आफ्नो जनैसमेत फेर्ने गर्छन् भने व्रत बसेका महिलाले नयाँ दुबधागो लगाउने गर्छन् ।बिरुडा घरमा ल्याएर ठूलाबडाले सानालाई पूज्ने गरिन्छ । पुरुष रातिसम्म गौरा खलोमा ठाडो खेल खेल्ने गर्छन् । बर्खेखेती लगाएर फुसर्दिला हुँदा दिउँसो खाना खाएर सबै जना गौरा खलोमा पुग्ने गर्छन् । गौरा मनाउन देश विदेशबाट समेत घर आउने चलन छ । गौरामा नयाँ लाउने र मिठो खाने गरिन्छ । बर्खेखेती पछिको थकाइ मार्न सबै गौरामा रमाउँछन् ।धनी गरीब भनिदैन । सबैले गच्छेअनुसार मनाउँछन् । गौराको अन्तिम नदी बाजागाजासहित जलाशय वा नदी किनारमा विर्सजन गरिन्छ । यसै अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वको बिदा दिने गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्