धनगढी । प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौं गर्भका रुपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख छ । कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान् विष्णुको आठौं अवतारका रुपमा आजैका दिन भगवान् श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले भगवान् विष्णुले मानिसको अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा जन्म लिएको स्मृतिस्वरुप आजको दिन यो पर्व मनाउने गरिएको हो । कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डवमध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै श्रीमद्भागवत गीता हो । श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसङ्गका कारण यो महिनाभर प्रेम उत्सव अर्थात् झुला उत्सवका रुपमा समेत मनाउने गरिन्छ ।आजको दिनमा श्रीकृष्णको पूजा आराधना गर्नाले सन्तान प्राप्ति हुने, लामो आयु प्राप्त हुने र समृद्धि प्राप्ति हुने विश्वास गरिन्छ । यस पर्व मनाउनुले हरेकको मनोकामना पूरा हुने आस्था राखिन्छ । आजका दिनमा प्रेम र दाम्पत्य सुखका लागि राधा–कृष्णको, सन्तान प्राप्तिका लागि बालक कृष्णको र अन्य मनोकामना पूरा गर्नका लागि बंशीवाला कृष्णको मूर्ति बनाई पूजा गर्ने गर्ने गरिन्छ ।श्रीकृष्णको पूजामा कालो रङ बर्जित छ । या सम्मकी मन्दिरमा जान समेत कालो रंगको प्रयोग नगर्नु उचित देखिन्छ । श्रीकृष्णको पूजा आराधनाका लागि शृंगारमा फूल र गोपी चन्दनको प्रयोग उचित मानिन्छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्