काठमाडौं । शहीद गोविन्द गौतमको घर कञ्चनपुरको पुनर्वास पुगेर फिल्म ‘काँडेतार’ले उनको परिवारलाई आर्थिक सहयोग प्रदान गरेको छ । फिल्मको च्यारिटी प्रदर्शनबाट संकलित रकमबाट ५० हजार रुपैयाँ शहीद गौतमको परिवारलाई प्रदान गरिएको निर्माता तथा निर्देशक नवल खड्काले जानकारी दिए ।गौतमको पुनर्वासस्थित घरमा पुगेको फिल्मको युनिटले उनका बाबुलाई भेटेर सहयोगी हात बढाएको हो । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर २०७३ फागुन २६ गते सीमा विवादमा भएको झडपमा उनको मृत्यु भएको थियो ।
यसअघि पनि गौतमको परिवारलाई फिल्म युनिटले २६ हजार रुपैयाँ सहयोग गरेको थियो । फिल्म ‘काँडेतार’ले भारतले नेपाली सीमा अतिक्रमण गरेको कथावस्तु उठाइएको छ । यो राष्ट्रवादी सन्देश बोकेको फिल्मले शहीद गौतमका सपना पूरा गर्न भूमिका खेल्ने आशा निर्देशक खड्काले व्यक्त गरेका छन् ।
यो फिल्म फागुन २५ गते देशव्यापी रिलिज हुँदैछ । हलमा लाग्नुअघि यो फिल्मको देशव्यापी च्यारिटी प्रदर्शनका लागि खड्का लगायतको टोली देश दौडाहामा निस्किएको छ । खड्काले यसअघि राष्ट्रप्रेममै आधारित भीमदत्त, दशगजा, आवाज जस्ता फिल्म निर्माण गरिसकेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्