डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–४ कटालमा पुरुष र महिला खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । भागेश्वर माध्यामिक विद्यालय कटालको आयोजनामा आज सम्मकै सबै भन्दा ठुलो धनराशिमा खुल्ला भलिबल प्रतियोगिता आयोजना हुन लागेको हो ।
विद्यालयको ४९औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा भलिबल प्रतियोगिताको आयोजना गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिंह माल ‘डायमण्ड’ले जानकारी दिए ।
पुरुष खुल्ला भलिबल प्रतियोगिताको विजेताले एक लाख ५१ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने उनले बताए । उपविजेताले एक लाख एक हजार एक सय ११ र तेस्रो हुने टिमले ५० हजार एक सय ११ रुपैयाँ पुरस्कार पाउने अध्यक्ष मालले बताए । यसका साथै ट्रफी, मेडल र प्रमाणपत्रसमेत दिइनेछ। पुरुष भलिबलतर्फ टिम दर्ता शुल्क पाँच हजार राखिएको छ।
खुल्ला महिला भलिबलतर्फ प्रथम हुने टिमले ७५ हजार एक सय ११, द्वितीयले ५१ हजार एक सय ११ र तृतीय हुने टिमले २५ हजार एक सय ११ रुयैयाँ प्राप्त गर्ने अध्यक्ष मालले जानकारी दिए। महिला भलिबलतर्फ टिम दर्ता शुल्क तीन हजार तोकिएको छ। विद्यालयले महिला भलिबलतर्फ पनि पुरस्कार राशिमा दोब्बरभन्दा बढीले वृद्धि गरेको बताएको छ ।
प्रतियोगिता माघ १२ देखि १५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । माघ २ देखि ११ गतेसम्म कार्यालय समयभित्र टिम दर्ता गराइसक्नुपर्नेछ।
तपाइको प्रतिक्रिया दिनुहोस्