धनगढी । धनगढीमा जारी लिटल फ्लावर प्रिमियम लिग (एलपिएल) मा आज भएको दुई खेलमा यूथ अफ टीकापुर र सत्यवती एकेडेमी विजयी भएका छन्। यूथ अफ टीकापुरले शारदा सेकेण्डरी स्कुललाई तथा सत्यवती एकेडेमीले जेएस स्पोर्ट्स–११ सुपर स्टार्सलाई पराजित गर्यो। आजको पहिलो खेलमा यूथ अफ टीकापुरले विजयी सुरुवात गर्ने क्रममा शारदा सेकेण्डरी स्कुललाई ९४ रनले पराजित गर्यो। यूथ अफ टीकापुरले दिएको १९० रनको लक्ष्य पछ्याएको शारदाले २० ओभर ब्याटिङ गर्दै ६ विकेट गुमाएर ९५ रन मात्र बनायो।
शारदाको ब्याटिङमा सुशान्त खत्रीले सर्वाधिक ३७ तथा सुवास सिंहले १६ रन योगदान दिए। यूथ अफ टिकापुरका प्रकाश जैसीले ३ विकेट लिए भने मोहम्मद हुसेन, प्रेम शाह र सुमित महर्जनले १÷१ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको यूथ अफ टिकापुरले १७।५ ओभरमा सबै विकेट गुमाएर १८९ रन बनायो। यूथ अफ टिकापुरका कप्तान प्रेम शाहले सर्वाधिक ४८ रन बनाए। प्लेयर अफ द म्याच घोषित शाहले ३७ बलमा ७ चौका प्रहार गरे। यस्तै सुमित महर्जनले ३४, हरि चौहानले २५, प्रदीप ऐरीले २४ तथा मोहम्मद हुसेनले २३ रन बनाए।
शारदाको बलिङमा विश्वास पन्त एक्लैले ६ विकेट लिए जुन क्रममा उनले ३।५ ओभरमा ३१ रन खर्चिए। अभिषेक मल्लले २ तथा सुशान्त कार्कीले १ विकेट लिए। आजको दोस्रो खेलमा सत्यवती एकेडेमीले विजयी सुरुवात गर्ने क्रममा जेएस स्पोर्ट्स–११ लाई ३ विकेटले पराजित गर्यो। जेएस स्पोर्ट्स–११ ले दिएको ९९ रनको लक्ष्य सत्यवतीले १२।५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।सत्यवतीको लागि ओपनर इमरान शेखले सर्वाधिक ३४ रन योगदान दिए जुन क्रममा उनले २४ बलमा ५ चौका र १ छक्का प्रहार गरे। समीर कार्कीले १३ तथा खगेन्द्र जोशी ११ रन बनाए।
जेएस स्पोर्ट्स–११ का बलर राज बमले ३ विकेट, नितिश न्यौपानेले २ तथा साजन बिटालुले १ विकेट लिए। यस अघि टस जितेर ब्याटिङ गरेको जेएस स्पोर्ट्स–११ सुपर स्टार्सले २० ओभरमा ९ विकेट गुमाएर ९८ रन बनायो। जेएस स्पोर्ट्स–११को लागि राजेश साउदले सर्वाधिक १९ तथा सुनिल चन्दले १७, रोयल बमले ११ तथा साजन बिटालुले ११ रन बनाए।
सत्यवती एकेडेमीको बलिङमा अभिषेक कोइरालाले ३ विकेट लिए भने फिर्दोश अन्सारी, रंजित कुमार र सन्तोष कार्कीले समान २÷२ विकेट लिए। प्लेयर अफ द म्याच घोषित भएका अभिषेकले ४ ओभरमा १५ रन खर्चिए। प्रतियोगिता अन्तर्गत छैटौँ दिन पनि दुई खेल हुनेछन्। पहिलो खेल बिहान ९ बजे यूथ अफ टिकापुर र धनगढी क्रिकेट एकेडेमी बिच तथा दोस्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्ट्स क्लब र शुक्लाफाँटा ब्ल्याक बक्स बिच हुनेछ।
प्रतियोगिताको उपाधि विजेताले दुई लाख ५५ हजार र उपविजेताले एक लाख २८ हजार रुपैयाँ पुरस्कार पाउने छन्। प्रतियोगितामा काठमाडौँ, रौतहट, दाङ, कैलाली र कञ्चनपुरका गरी १६ वटा टिमको सहभागिता रहेको छ।लिटल फ्लावर स्पोर्टस् क्लबको आयोजनामा सुरु भएको प्रतियोगिताको यो आठौँ संस्करण हो।
तपाइको प्रतिक्रिया दिनुहोस्