धनगढी, १ कार्तिक । ताइवानमा सम्पन्न दोस्रो एसियाली युथ चकबल च्याम्पियनसीपमा पदक बिजेता नेपाली खेलाडीहरुलाई सुदूर पश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्रि झपट बहादुर साँउदले सम्मान गरेका छन् ।
नेपालबाट च्याम्पियनसिपमा सहभागी भएको धनगढीस्थित नन्दिनाज एकेडेमीका विद्यार्थीहरुको टीमले तेस्रो र चौथो उपाधी हात पारेको थियो ।
नन्दिनाज एकेडेमीमा आज आयोजित स्वागत तथा सम्मान कार्यक्रममा प्रमुख अतिथि मन्त्रि साँउदले पदक बिजेता खेलाडीहरुलाई प्रमाण प्रदान गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम राखेकोमा बधाई दिए ।
मन्त्रि साँउदले आफू खेलकुदको विकासका लागि प्रतिबद्ध भएको बताउदै अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा पदक ल्याउने खेलाडीहरुलाई प्रदेश सरकारका तर्फबाट पुरस्कार प्रदान गर्ने घोषणा गरे ।
उनले युवाहरु कुलत तथा दुव्र्यसनको शिकार भईरहेको चर्चा गर्दै कुलतको यो भयावह अवस्थाबाट युवाहरुलाई बाहिर निकाल्न र थप युवाहरुलाई कुलतमा फस्न नदिन उनीहरुलाई खेल गतिबिधिमा सहभागी गर्न आवश्यक भएको बताए ।
युवाहरु कुलतको शिकार भईरहेका छन् । अहिले हाम्रो मुख्य चासो र चिन्ताको विषय नै यही हो, उनले भने, यसका लागि सरकार गम्भीर छ ।
नेपाल चकबल संघका बरिष्ठ उपाध्यक्ष त्रैलोक्यनाथ पाण्डेयले खेलकुदको विकासका लागि राज्यको लगानी न्यून भएको गुनासो गर्दै अन्तर्राष्ट्रिय स्तरमा देशलाई खेलकुदले नै चिनाईरहेकोले खेलकुदको विकास र खेलाडीहरुलाई हौसला प्रदान गर्न राज्यले लगानी र नीतिमा सुधार गर्नुपर्ने बताए ।
हालै काठमाण्डौंमा सम्पन्न राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जित्न सफल बर्षा साँउदलाई समेत सोही कार्यक्रममा सम्मान गरिएको थियो ।
कैलाली खेलकुद समितिका अध्यक्ष ललित खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य गर्दै नन्दिनाज एकेडेमीका कार्यकारी निर्देशक महेश बिष्टले ताइवानमा सम्पन्न दोस्रो एसियाली युथ चकबल च्याम्पियनसीपमा सहभागी नन्दिनाजका विद्यार्थीहरुलाई हौसला प्रदान गरेकोमा सामाजिक विकास मन्त्रि र नेपालमा चकबल भित्र्याएकोमा नेपाल चकबल संघका बरिष्ठ उपाध्यक्ष त्रिलोक पाण्डेय प्रति आभार व्यक्त गरे ।
कार्यकारी निर्देशक महेश बिष्टले छोटो अबधिको प्रशिक्षणपछि पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धामा सहभागी भएका नन्दिनाज एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेर नेपाललाई चिनाएको बताए । कार्यक्रमको सञ्चालन नन्दिनाज एकेडेमीका शिक्षक नारायण ढकालले गरेका थिए ।
नेपाल, भारत, मलेसिया, हङकङ, ताइवान र सिङ्गापुर लगायतका नौ देशको सहभागितामा भदौ पहिलो साता तीन दिनसम्म सञ्चालित च्याम्पियनसिपमा नेपालबाट पहिलो पटक सहभागी भएको नन्दिनाज एकेडेमीका विद्यार्थीहरुले उत्कृष्ट प्रदर्शन गरेका थिए ।
ताइवानमा सम्पन्न च्याम्पियनसीपमा नन्दिनाज एकेडेमीका १५ वर्षमुनिका १२ जना विद्यार्थीले दुई समूहमा प्रतिस्पर्धा गरेका थिए ।
छात्रा तर्फ वर्षा बिष्टको नेतृत्वमा निर्मला भट्ट, दिव्या नेपाली, निष्ठा भट्ट, स्मारिका सिजापती सोव र छात्र तर्फ रोजन शाहीको नेतृत्वमा कर्णबीर बिष्ट, प्रिन्स एसके, प्रतिक सिंह टेर, अनिष खड्का, मोहम्मद ओवैस आलम, सात्विक ठाकुरले च्याम्पियनसीपमा प्रतिस्पर्धा गरेका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्