कर्णाली चिसापानी नदीको पुल मर्मत हुँदै - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

कर्णाली चिसापानी नदीको पुल मर्मत हुँदै

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८२-१-१६
  • सुन्नुहोस् 
 
 कर्णाली चिसापानी नदीको पुल मर्मत हुँदै

कैलाली। कैलाली र बर्दियाको सीमा क्षेत्रमा पर्ने चिसापानी कर्णाली नदीको पुल मर्मत हुन थालिएको छ।

गत वर्षको फागुन २८ गते आगोले क्षति गरेका पुलका लठ्ठाहरूमा मर्मत हुन थालिएको हो।

ट्रकमा आगलागी हुँदा पुलका १४ वटा लठ्ठामा क्षति भएको थियो। डिभिजन सडक कार्यालय, नेपालगन्जले पुल मर्मतका लागि ठेक्का सम्झौता गरेको हो। डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले भने, ‘तीन हप्तादेखि काम सुरु भएको छ। लठ्ठाहरू मर्मतको काम गर्ने हो। लठ्ठाको जलेको भाग हटाउने हो। खिया नलागोस भनेर, मर्मत गर्ने हो। नटबोल्डहरू पनि मर्मत हुन्छ।’

यातायात एकतर्फी सञ्चालन गरेर पुल मर्मतको काम हुँदैछ। तीन साताअघि सुरु गरिएको मर्मत कार्य आगामी एक साताभित्र सम्पन्न गर्ने लक्ष्य रहेको डिभिजन सडक कार्यालय नेपालगन्जले बताएको छ। १० लाख रुपैयाँको ठेक्का मार्फत पुल मर्मतको काम थालिएको हो। मर्मतका लागि निर्माण व्यवसायीबाट दुई र सडक कार्यालयका प्रमुखसहित चार जना प्राविधिक खटिएका छन्।

२०५१ साल मंसिर २८ गते उद्घाटन भएको चिसापानीस्थित अत्याधुनिक कर्णाली पुलको स्टिल पार्टको रङ्गरोगन पुल महाशाखाले यसै आर्थिक वर्षमा गर्ने तयारी गरेको सडक कार्यालयले जनाएको छ।

एउटा मात्र टावर भएको, असमानुपातिक केबुल स्टेड प्रकारको यो पुल पाँच सय मिटर लम्बाइको छ। यसमा टावरको पश्चिमतर्फ ३२५ मिटर र पूर्वतर्फ १७५ मिटर भाग फैलिएको छ। टावरको उचाइ एक सय २० मिटर रहेको छ।


फाउन्डेसन १३ मिटर गहिरो छ भने पुलको डेक फलामे स्लेम जडान भएको ट्रस माथि प्रिकास्ट कङ्क्रिट स्ल्याब जडान गरिएको छ। डबल लेन रहेको यो पुल ११ दशमलव ३ मिटर चौडा छ।

२०४४ सालमा निर्माण सुरु गरिएको कर्णाली पुल सात वर्षमा सम्पन्न भएको थियो। पुल निर्माणमा नेपाल, अमेरिका, भारत, थाइल्यान्ड, श्रीलंका लगायत १४ देशका प्राविधिक र कामदार संलग्न थिए।

त्यस बेला पुल निर्माणमा ३६ करोड २४ लाख रुपैयाँ खर्च भएको थियो। पुल निर्माण भएको तीन दशक बितिसक्दा पनि रङ्गरोगन भएको छैन। बर्सेनि बाढीले पुलमुनि रहेका सिमेन्टका दर्जनौँ ब्लक बगाउने गरेको छ।

ब्लक बगाउँदा नदीले पुलको किनारबाट धार बगाउने खतरा बढेको छ। त्यस्तै, २०६२ साल पुस ७ गते सुरक्षा फौज र माओवादीबिच भएको भिडन्तमा पुलको अधिकांश संवेदनशील भागमा करिब ८०–९० वटा गोली लागेका थिए।

पुलका धेरै स्थानमा खिया लागेको र नट फुस्किएकाले सवारी साधन गुड्दा टावर हल्लिने गरेको छ। 


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च