धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह नेतृत्वको टोली भारत भ्रमणमा जाने भएको छ।
आगामी १६ गतेदेखि २२ गतेसम्म मुख्यमन्त्री नेतृत्वमा १० सदस्यीय टोली भारत जान लागेको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार भारतीय विदेश मन्त्रालयको व्यवस्थापनमा मुख्यमन्त्रीसहितको टोली भारत भ्रमणमा जान लागेको हो। उक्त टोलीमा सरकारका तर्फबाट मुख्यमन्त्री शाहसहित भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा छन्।
कांग्रेस र एमालेका मुख्यमन्त्री र मन्त्री परेको टोलीमा माओवादी केन्द्रबाट झपट साउद, नागरिक उन्मुक्ति पार्टीबाट घनश्याम चौधरी र नेकपा एकीकृत समाजवादीबाट नरेश बहादुर शाही छन्। मुख्यमन्त्रीसँग उनका राजनीतिक सल्लाहकार डाक्टर जितु उपाध्याय र उनका स्वकीय सचिव रामबहादुर विष्ट पनि भ्रमण टोलीमा छन्।
प्रदेश नीति तथा योजना आयोगका सदस्य शेरबहादुर विष्ट, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका प्रमुख सचिव, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव पनि भ्रमण टोलीमा छन्। सुदूरपश्चिम प्रदेश सरकारले २५ जनको टोलीलाई भारत भ्रमणमा लैजाने तयारी गरेको थियो। तर, दूतावासले १० जनाको मात्रै नाम स्वीकृत गरेपछि मुख्यमन्त्री शाहसहित १० जना भारत जाने भएका हुन्।
२५ जना लैजाँदा उपयुक्त हुन्छ भनेर हामीले प्रस्ताव गरेका थियौँ। त्यसमा सबै पक्षको सहभागिता हुने थियो। तर, दूतावासले १० जनाको मात्रै व्यवस्थापन गर्न सक्ने भनेपछि सबै दल समेटिने गरि १० जनाको नाम उपलब्ध गराइएको हो’ मुख्यमन्त्रीका राजनीतिक सल्लाकार डाक्टर उपाध्यायले जानकारी दिए। उनका अनुसार भारत भ्रमणका क्रममा कृषि ,पर्यटन र ऊर्जाको विषयमा छलफल र संवाद हुने छ।
मुख्यमन्त्रीले केही दिन पहिले मात्रै मन्त्रिपरिषद् बैठकमा भारत भ्रमणबारे औपचारिक जानकारी दिएका थिए ।
तपाइको प्रतिक्रिया दिनुहोस्