सुदूरपश्चिम
सुदूरपश्चिममा आज गौरा पर्व मनाइँदै

धनगढी । सुदूरपश्चिम प्रदेशमा आज गौरा पर्व हर्षोल्लासका साथ मनाइँदै छ। गौरा पर्वमा अष्टमीका दिन गौराको पूजाआजा गरी मनाइन्छ। सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व सबै जिल्लामा धार्मिक तथा सांस्कृतिक मान्यता अनुसार मनाउने चलन छ।
यस वर्ष तिथी परिवर्तनका कारण दुई पटक गौरा मनाइएको हो। भदौ ७ गते गौरा पर्व नमनाएकाहरुले आज गौरा पर्व मनाउदै छन्। पञ्चमीदेखि आरम्भ हुने गौरापर्वको पहिलो दिन महिलाहरुले घरघरमा तामाको भाँडामा बिरुडा ९पाँच प्रकारका अन्न० भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन्।
पञ्चमीका दिन महिलाहरुले व्रत बसी केराउ, गहत, गहुँ, मास र गुरौस मिसाएर तामाको भाँडामा विरुडा भिजाएपछि गौरा पर्वको थालनी हुन्छ। पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ।
त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाहरुले दुवधागो चढाउने चलन छ। अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थलमा पार्वती र शिवको पूजापाठ गर्ने चलन छ।
गौरा पर्वको मुख्य आकर्षणको रुपमा रहेको देउडामा पौराणिक कथा, देवी देवताका गाथा गाउने, चैतली, धुमरी, ढुस्को लगायतका भाकामा देउडा खेल खेल्ने चलन छ। धनगढी उप(महानगरपालिकाले आज गौरा पर्वको अवसरमा स्थानीय बिदा पनि दिएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्