राष्ट्रिय
सुदूरपश्चिम प्रदेश सभाको अवरोध हटाउने विषयमा सत्तागठबन्धन बीच छलफल, निष्कर्षमा पुग्न सकेन

धनगढी । सुदूरपश्चिम प्रदेशका सत्तागठबन्धन दलहरूबीच प्रदेश सभाको अवरोध हटाउने विषयमा आज छलफल भएको छ। मंगलबारको बैठकमा प्रदेश सभालाई निरन्तर सञ्चालन गर्ने र सदन खुलाउने सम्बन्धमा बृहद छलफल भएको हो।नेपाली कांग्रेसका प्रमुख सचेतक बिक्रमसिंह धामीका अनुसार बैठकमा सदनलाई अनिर्णयको बन्दी बनाउन नहुने र सरकारले पर्याप्त मात्रामा कार्यसूची (बिजनेस ) दिने विषयमा चर्चा भएको थियो। यद्यपि, प्रतिपक्षी दलहरूका उठाएका फजुल खर्च कटौती, राजनीतिक नियुक्ति र सुशासन जस्ता मुद्दामा सहमति हासिल गर्न अझै समय लाग्ने देखिएको छ।सत्तापक्ष र प्रतिपक्षी दलहरूबीच पटक(पटक बैठक बसे पनि, अझैसम्म कुनै ठोस निष्कर्षमा पुग्न सकेको छैन। सोमबार बोलाइएको सर्वदलीय बैठक पनि बिना निष्कर्ष टुंगिएको थियो।यसैबीच, सभामुख भीमबहादुर भण्डारीले मंगलबार बोलाएको कार्य व्यवस्था परामर्श समितिको बैठक पनि नबस्ने भएको छ। सत्तापक्षको अनुपस्थितिमा बैठक नबस्दा थप विवाद उत्पन्न भएको जानकारी प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले दिए।
तपाइको प्रतिक्रिया दिनुहोस्