हामि संग जोडिनुहोस

सुदूरपश्चिम

सुदूरपश्चिममा लम्पी स्किन रोग नियन्त्रणको माग गर्दै किसानहरू आन्दोलित

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-११
  • सुन्नुहोस् 
1.18K  
Banner

धनगढी । सुदूरपश्चिममा लम्पी स्किन रोगको सङ्क्रमण भयावह बन्दै गएपछि पशुपालन किसानहरू आन्दोलित भएका छन्। रोग नियन्त्रण तथा भएको क्षति व्यवस्थापनमा सरकार निरीह वनेको भन्दै अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटीले आइतबार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय धनगढीमा धर्ना सँगै ज्ञापन पत्र बुझाएको छ।

लम्पी स्किन रोगलाई महाकारी घोषणा गरी प्रभावकारी उपचार तथा व्यवस्थापन थालिनुपर्ने,मरेका पशुहरूको बिमा रकम यथाशीघ्र भुक्तानी गरिनु पर्ने लगायतका १० बुँदे माग राख्दै भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री रामेश्वर चौधरीलाई ज्ञापन पत्र बुझाइएको सङ्घका सुदूरपश्चिम अध्यक्ष मदन रेग्मीले बताए।

पशुहरुमा महामारीको रुपमा फैलिएको लम्पी स्किनलाई तत्काल महामारीको घोषणा गर्नु पर्ने,पशुबस्तुमा क्षति पुगेका किसानलाई राहत,क्षतिपूर्तिका लागि प्रयाप्त बजेट सहितको राहत कार्यक्रम घोषणा गर्नु पर्ने,रोग नियन्त्रणका लागि प्रयाप्त भ्याक्सिन तथा प्राविधिकको व्यवस्था गरिनुपर्ने,पशुमा क्षति पुगेका किसानलाई अविलम्ब बीमा रकमको भुक्तानीको व्यवस्था गरिनु पर्ने माग राखेका थिए ।‘लम्पी स्किन रोगबाट लाखौँ पशु चौपाया मरेका लाखौँ अझै सङ्क्रमित छन। किसानहरूको अर्वौको धनमाल नष्ट भएको छ । सङ्घीय र प्रदेश सरकार यो समस्या सँग चिन्तित छैनन् ।कृषकका समस्या समाधान गर्नुको सट्टा भारतमा ७ रुपैयाँमा उत्पादन भएको भ्याक्सिनलाई १ सय २० रुपैयाँमा निर्यात गरी किसानमाथि कालोबजारी गरी ५ सय रुपैयाँ सम्म बेचिरहेका छन्,‘महासङ्घका अध्यक्ष रेग्मीले भने,‘सरकारले लम्पी स्किन रोगलाई महामारीका रूपमा घोषणा गरी व्यवस्थापन गर्दैन भने हामी आन्दोलनका कार्यक्रम चर्काउँछौ।’

ज्ञापन पत्र बुझे पश्चात् किसानहरूलाई सम्बोधन गर्दै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री रामेश्वर चौधरीले लम्पी स्किन रोग नियन्त्रणमा प्रदेश सरकार प्रभावकारी ढङ्गले लागेको बताए । ‘सुदूरपश्चिम प्रदेशमा यो रोगबाट मृत्यु भएका र सङ्क्रमित पशुहरूको तथ्याङ्क सङ्कलन गरी यसको नियन्त्रणका लागी बजेट व्यवस्थापनको काम भइरहेको छ । कार्ययोजना तयार गरी विपद् सङ्कटग्रस्त घोषणा गरी विपद् व्यवस्थापन कोषबाट रकम मागका लागी मन्त्रालयबाट प्रक्रिया अगाडी बढेको छ,’मन्त्री चौधरीले भने । प्रत्येक जिल्लाबाट प्रभावित पशुहरूमा खोप लगाउने कार्य पनि भइरहेको उनको भनाई छ ।

लम्पी स्किन रोग विशेष गरी लामखुट्टे, टोक्ने झिँगा, किर्नालगायतबाट सर्ने गरेको छ । यस रोगको ठोस उपचार पद्धति नभएकाले लक्षणका आधारमा पशुको उपचार हुँदै आएको छ । हाल सम्म सुदूरपश्चिम प्रदेशमा यो रोगको सङ्क्रमणबाट ९० हजारको हाराहारीमा पशूचौपाया मरेको अखिल नेपाल किसान महासङ्घ सुदूरपश्चिम प्रदेश कमिटी सचिव राकेश सिंहले बताए । रोग नियन्त्रण र क्षति सम्बन्धी माग पुरा नभए थप सङ्घर्षका कार्यक्रम अगाडी बढाइने उनको भनाई छ ।


तपाइको प्रतिक्रिया दिनुहोस्