हामि संग जोडिनुहोस

सुदूरपश्चिम

समावेशी र गुणस्तरीय शिक्षा दिन माग सहित सात बुँदे धनगढी घोषणापत्र जारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-५-५
  • सुन्नुहोस् 
885  
Banner

धनगढी । सात बुँदे धनगढी घोषणापत्र जारी गर्दै सुदूरपश्चिम प्रदेश स्तरीय समावेशी र गुणस्तरीय शिक्षा सम्मेलन आइतबार धनगढीमा सम्पन्न भएको छ । रुडुकको आयोजनामा समावेशी र गुणस्तरीय शिक्षा तथा बालबालिकाको क्षेत्रमा बजेटको अवस्थाबारे प्रदेशस्तरीय सम्मेलन भएको हो । 

रुडुकका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य डा. आरजु राणा देउवाको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको आथित्यतामा सम्पन्न सम्मेलनले सात बुँदे धनगढी घोषणापत्र जारी गरेको छ । 

घोषणापत्रमा प्रदेश र स्थानीय सरकारमार्फत शिक्षामा हाल भइरहेको लगानीलाई पुनरावलोकन गरी विशेष आवश्यकता भएका बालबालिकालाई समावेशी गुणस्तर शिक्षा प्रदान गर्न एवम् शिक्षा क्षेत्रको सुधारका लागि प्रतिवद्ध रहेको उल्लेख छ । 

यसैगरी, प्रदेश सरकारको पहलकद्मीमा तयार भइरहेको प्रदेश शिक्षा ऐन, शिक्षा रणनीतिलाई स्वीकृत कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको उल्लेख छ । समावेशी शिक्षा प्रवद्र्धनका लागि अपाङ्गता भएका बालबालिकाको स्वीकार्यता, पहुँच, अनुकूल उपलब्धतालाई ध्यान दिदैं विभेदरहित वातावरणमा शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन सुनिश्चित्ता गर्नमा सरोकारवाला प्रतिवद्ध रहेको घोषणापत्रमा जनाइएको छ ।  

यस्तै, अपाङ्गमैत्री शिक्षण सिकाइ तथा संरचना निर्माणका लागि पहल गर्न सरोकारवाला प्रतिवद्ध छन् । प्रदेश सरकार तथा स्थानीय सरकारले दलित, अपाङ्ग भएका बालबालिकालाई उच्च शिक्षा प्रदानका लागि विशेष पहलकद्मी गर्दै समावेशी तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनमा प्रतिवद्ध रहेको जनाएको छ । यसका लागि प्रदेशभित्र सञ्चालित विशेष विद्यालय स्रोत कक्षामा कार्यरत शिक्षकलाई आवश्यक तालिम प्रदान गरिने जनाइएको छ ।  

यसैगरी, विशेष आवश्यकता भएका बालबालिकालाई गुणस्तरीय र समावेशी शिक्षा प्रदान गर्न सुनिश्चितताको लागि विशेष शिक्षा अध्ययन गरेका व्यक्तिलाई विद्यालय शिक्षक नियुक्तिमा प्राथमिकता दिनेमा सहभागी सरोकारवालाले प्रतिवद्धता जनाएका घोषणापत्रमा उल्लेख गरिएको छ । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका  भौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवासहित स्थानीय तहका जनप्रतिनिधि र सरोकारवाला अन्य निकायको सहभागिता रहेको थियो । 


तपाइको प्रतिक्रिया दिनुहोस्