हामि संग जोडिनुहोस

समाचार

मोहना नदी कटान तिब्र, तटबन्धन बनाउने नेताको खोक्रो आश्वासनले जनता निराश

  • Logo
    रमेश ऐडी
  • Logo
    २०८०-५-३
  • सुन्नुहोस् 
2.07K  
Banner

धनगढी ।मोहना नदि किनाराका जनताले बषौं पहिलेदेखि वडा अध्यक्ष देखि सांसदसम्मलाई माग्ने एउटै माग हो नदिमा तटबन्धन । तर नदिमा तटबन्धन नहुदाँ हरेक बर्ष नदि कटान तिब्ररुपमा बढ्दै गइरहेको छ । 

कैलालीको धनगढी उपमहानगरपालिका फूलवारी क्षेत्रमा मोहना नदिको कटानले सार्वजनिक सम्पत्ति सँगै कयौं बस्तीहरु जोखिममा परेका छन् । तर चुनाबका लागि भोट संरक्षण गर्न हदैसम्मको मिहनेत गर्ने नेताहरुले भोटदिने जनता र ती बस्तीको संरक्षणमा बेवास्था गरेको नदिकटान क्षेत्रका बासिन्दाले गुनासो गरेका छन् । 

केही बर्षदेखि मोहना नदिले तिब्ररुपमा कटान गर्दा करिब ३० बिघा क्षेत्रफमा रहेको धनगढी १९ ललीतपुर स्थित सुन्दर शक्ति सामुदायिक वनको आधाभन्दा बढि भाग नदिमा परिणत भईसकेको छ ।

सो क्षेत्रमा एक दुई बर्षभित्र तटबन्धन नगरिएमा बाँकि रहेको सामुदायिक वन र वनसँगै जोडिएको ललीतपुर ससस्त्र प्रहरी क्याम्प,विद्यालय र क्लवको जमिन नदिमा परिणत हुने स्थानीयहरुको भनाई छ ।

हालसम्म सो क्षेत्रमा स्थायी तटबन्धनको लागि कुनै योजना नपरेको बताउंदै स्थानीय रामप्रसाद चौधरीले नेपालु चौधरी प्रदेश सांसद हुदाँ २० लाखको अस्थायी तटबन्धन निर्माण गरिएको जानकारी दिए । तर बाँसको प्रयोग गरी गरिएको सो तटबन्धन एक बर्ष नपुग्दै नदिले बगाएको उनले बताए । 

ललीतपुर क्षेत्रको मोहना नदिमा तटबन्धन नहुदाँ ससस्त्र प्रहरी क्याम्पको भवन सहित १ बिघा, सुर्मादेवी युवा क्लवको ४ विघा,जनप्रिय आधारभुत विद्यालयको ५ बिघा,सुन्दरशक्ति सामुदायिक बनको बाँकि रहेको करिब १० बिघा सार्वजनिक सम्पत्ति र सयौं बिघा स्थानीय जनताको जमिन सहित ललीतपुर बस्ती नै नदि कटानको उच्च जोखिममा रहेको धनगढी १९ का वडा सदस्य हरेन्द्र ऐडीले बताए । 

त्यस्तै मोहना नदिले धनगढी १९ साझघारी स्थित भाकल सामुदायिक वनको करिब १० बिघा जमिन कटान गरेको स्थानीय रबिन चौधरीले बताए । उनले नदि कटानको कारण सो क्षेत्रका १८ परिवार विस्थापीत भएको र स्थानीयको सयौं बिघा जमिन कटान गरी नदिमा परिणत भएको बताए । 

साझघारीको भाकल सामुदायिक वन क्षेत्रमा पर्ने मोहना नदिमा हालसम्म तटबन्धन नहुदाँ उक्त सामुदायिक वन,स्थानीयको जमिन सहित बस्ती नै नदि कटानको उच्च जोखिममा रहेको चौधरीले बताए । 

त्यसैगरी धनगढी १८ स्थित नुकलीपुर बस्ती पनि मोहना नदिको चपेटामा परेको छ । हरेक बर्ष बाढी आउँदा नुुकलीपुर बस्तीका बासिन्दालाई उद्धार गरि सुुरक्षित ठाउँमा राखिने गरिएको अध्यक्ष भुवन रिजालले बताए । १३० परिवारको बसोबास रहेको नुुकलिपुुर बस्ती मोहना नदि कटानको उच्च जोखिमा रहेको  छ। 

नदिले हरेक बर्ष कटान गर्दै आईरहेको बताउँदै अध्यक्ष रिजालले नदिमा तटबन्धनका लागि उपमहानगरपालिका,प्रदेश सरकार , संघिय सरकार तथा जनताको तटबन्धन कार्यक्रमलाई आग्रह गर्दा कसैले चासो नदिएको बताए । अध्यक्ष रिजालले वडाको बजेटले तटबन्धन गर्न नसकिने भएकाले माथिल्लो निकायलाई सिफारिस गरि पठाउँदा कतैबाट पनि बजेट नपरेकोमा दुख व्यक्त गरे ।

नुकलीपुर बस्तीको समस्याको बारेमा नगरप्रमुख ,प्रदेश तथा संघका माननीयलाई जानकारी हुदाँ समेत तटबन्धनको लागि पहल नगरेको भन्दै स्थानीय जनताले गुनासो गरेका छन् । चुनाबका बेला मात्र जनताको समस्या देख्ने तर जितिसकेपछि बिर्सिने नेताहरुको बानीले गर्दा नुकलीपुर बासीले बषौं पहिलेदेखि दुख भोगीरहेको स्थानीयहरुको भनाई छ । 

धनगढी १४ स्थित हरिया कटान खुटिया बस्ती खुटिया नदिको मारमा परेको छ । ३० परिवारको बसोबास रहेको सो बस्तीमा बाढी पस्ने गरेको छ । बस्ती सँगै प्राथमिक विद्यालय पनि जोखिममा रहेको धनगढी १४ का महेश गोलेले बताए । 

प्रदेश सरकारले सो क्षेत्रमा तटबन्धनका लागि १०/१५ लाखका साना टुक्रे योजना हालेको गोलेले बताए । तर साना टुक्रे योजनाले समस्या समाधान नहुने भन्दै ठुलो बजेट आवश्यक रहेको उनको भनाई छ । नदिले तिब्र कटान गरिरहेकाले एकदुई बर्षभित्र तटबन्धन नगरेमा पुरै बस्ती सहित विद्यालय नदिले बगाउन सक्ने भन्दै गोलेले समयमै ध्यान दिन सरोकारवाला निकायलाई आग्रह गरे ।

कैलालीका विभिन्न नदिमा तटबन्धन नहुदाँ नदिले हरेक बर्ष जमिन कटान गरिरहेको भएपनि सरोकारवाला निकायले चासो नदिएको  नदि प्रभावित क्षेत्रका जनताहरुको गुनासो छ । 

सुदुरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन,वन तथा वातावरण मन्त्री तथा कैलाली क्षेत्र नम्बर ५ (क) का सांसद रमेश सिंह धामीले प्रदेशको भौतिक मन्त्रालयबाट कैलालीका विभिन्न नदिमा आवश्यकताका आधारमा तटबन्धन गर्न डल्लो बजेट छुट्याईएको बताए । उनले भने,प्रदेश सरकारले यस बर्ष बजेटमा तटबन्धनका लागि यो वा त्यो ठाउँ नभनी डल्लो बजेट राखेको छ, बर्खा सकिएपछि आवश्यकताका आधारमा बढि समस्या भएको ठाउँ तटबन्धनका लागि बजेट हाल्छौ । 






तपाइको प्रतिक्रिया दिनुहोस्