अत्तरिया। गोदावरी नगरपालिका १२ चाँप गाउँमा खानेपानी र विद्यालय भवनको सिलन्यास गरिएको छ । बुधबार सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा विशेषाधिकार समिति सभापति तुलसी देवकोटाले एक समारोहकाबीच ग्वाँसी समैजी आधारभूत विद्यालयको दुई कोठे पक्की भवन र सीम गाउँको खानेपानी टंकीको सिलन्यास गरेकी हुन् ।
विद्यालय भवनको सिलन्यास गर्दै प्रदेश सभा सदस्य देवकोटाले अबको विकास गाउँबाटै सुरु हुने बताइन् । उनले भनिन्,‘सुगममा जो पनि विकास निर्माणका कार्य गर्न अग्रसर हुन्छ, तर दुर्गम गाउँमा कसैको ध्यान जाँदैन । त्यसैले कांग्रेसले यही वडादेखि नगर, प्रदेशहुँदै संघीय संसदमा भूमिकामा रहेकाले हामी दुर्गमको विकासका लागि अग्रसर छौँ ।’ आफूले आफ्नो संसद कोषको रकमबाट चाँपमा रहेको विद्यालयको दुई कोठे भवन र चाँप, सल्ली र सीम गाउँको खानेपानीका लागि छुट्टा छुट्टै खानेपानी ट्याङ्की निर्माणका लागि बजेट छुट्याएको बताइन् । उनले भनिन्,‘केही समय अघि यही दुर्गम गाउँमा विजुली बलेको छ, अहिले खानेपानी र विद्यालय भवनको सिलन्यास भयो, अब गाउँमा बाह्रै महिना गाडी गुड्ने सडकका लागि पक्की पुल र सहज बाटोका लागि हामी प्रयासरत छौँ ।’ विकास भनेको भौतिक पूर्वाधार मात्रै नभई यहाँका जनताको आर्थिक जीवनस्तर माथि उकास्ने खालका कार्यक्रम तथा आयआर्जनको कुरा भएको उनले बताइन् । भौतिक विकास सँगसँगै आर्थिक उपार्जनका लागि आयआर्जनका कार्यक्रम पनि अबका दिनमा यहाँका जनताको प्रमुख माग रहनु पर्ने उनले बताइन् । कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ४ का सभापति ललित रोकाया (वसन्त) ले ओलानीदेखि चाँप, सल्लीहुँदै नायलसम्मको सडकको रेखाङ्कन यसै क्षेत्रका तत्कालीन संसद दीर्घराज भाटको पालामा भएको बताउँदै भने,‘अहिले गोदावरी नगरपालिकाले चाँपमा विजुली बालेको छ । यहाँको मोटरबाटो बाहै्र महिना सुचारु हुनका लागि पनि हामी पहल गरिरहेका छौँ ।’ पहाडी क्षेत्रको बसाइँ सराइँ दरलाई रोक्नका लागि भए पनि स्थानीय, प्रदेश र संघीय सरकारले विशेष नीति बनाउनु पर्ने पनि उनले बताए । उनले भने,‘यी र यस्तै गाउँका आम नागरिकलाई गाउँमै सेवा सुविधा पु¥याए, बसाइँ सराइँ दर घट्छ, त्यसैले पनि सरकारले दुर्गम गाउँमा सडक, विद्युत, खानेपानी, शिक्षा र स्वास्थ्यमा पहिलो प्राथमिकता दिनुपर्छ ।’ कार्यक्रममा बोल्दै वडा नम्बर १२ का वडाअध्यक्ष भीमबहादुर खड्काले गाउँकै जनताको सेवा गरेकाले दुई दुई कार्यकाल यहीका आम मतदाताले आफूलाई वडाध्यक्षमा विजयी गराएको बताए । उनले भने,‘म तपाईहरुकै सेवामा तल्लिन हुन्छु र हुनेछु ।’ उनले गाउँको आवश्यकतालाई मध्यनजर गर्दै आउँदो बजेटमा सोही अनुसारको कार्यक्रम ल्याउने आम मतदातालाई विश्वास दिलाए । उनले चाँपमा विद्युतीकरण भइसके पनि सल्ली गाउँमा भने यसै महिनामा विजुली बल्ने बताए । उनले भने,‘यसै महिनाभित्र सल्ली गाउँमा विजुली बाल्छु । तपाईहरु ढुक्क हुनुस् ।’
तपाइको प्रतिक्रिया दिनुहोस्