धनगढी । कैलालीको कैलारी गाउँपालिका, लोहारपुरमा आगामी बैशाख दोस्रो सातादेखि थारु सांस्कृतिक चौथो वड्का भजहर कप सञ्चालन हुने भएको छ । वड्का भजहर कपमा फटवल तथा थारु समुदायका परम्परागत खेल समावेश हुने जनाइएको छ ।युवा जनहित क्लवको अयोजनामा हुने खेलकुद प्रतियोगिता बैशाख १५ देखि २२ गतेसम्म सञ्चालन हुने शुक्रबार क्लवद्वारा धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
क्लवका अध्यक्ष मनिराम चौधरीले चौथो वड्का भजहर कपमा फुटवलका साथै थारु समुदायका महिलाको छुर, डेल्वा दौड र टाँरा छिरउवा तथा पुरुष डेगा दौड, रस्सी तानातान खेल समावेश गरिएको बताए ।आयोजक क्लवका अनुसार फुटवल प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् । त्यस्तै, थारु परम्पागत खेलका विजेता टिमले ५० हजार र उपविजेताले २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् । अध्यक्ष मनिरामले भने– प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्टलाई साइकल उपहार प्रदान गरिने छ । त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई समेत पुरस्कार प्रदान गरिने छ ।
सो प्रतियोगिताको फुटवल खेलमा १६ वटा टिम सहभागी हुने छन् भने थारु परम्परागत खेलमा ६ टिमको सहभागिता रहने छ ।प्रतियोगितामा सहभागी हुने फुटवल टिमले प्रवेश शुल्कवापत ५ हजार रुपैयाँ तिर्नुपर्ने छ । अध्यक्ष मनिरामले थारु समुदायका परम्परागत खेलमा सहभागीहरूलाई भने निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको बताए ।प्रतियोगिता सञ्चालनमा ८ देखि १० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रवर्धक सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् रहेको छ र भने कैलारी गाउँपालिका प्रवर्धकका रुपमा रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्