कोहलपुर । कोहलपुरमा सम्पन्न नेत्रहीन क्रिकेट प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको छ । नेत्रहीन क्रिकेट संघ नेपालले बाँकेको कोहलपुरमा आयोजना गरेको प्रतियोगिताको उपाधि कञ्चनपुरले जितेको हो ।
मंगलबार खेलिएको फाइनल खेलमा बर्दियालाई ८० रनको फराकिलो अन्तरले हराउँदै कञ्चनपुरले उपाधि हात पारेको हो । पहिले ब्याटिङ गरेको दृष्टिविहीन क्रिकेट संघ कञ्चनपुरले निर्धारित ओभरमा तीन विकेट गुमाएर दुई सय १७ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा ओर्लिएको बर्दिया नेत्रहीन क्रिकेट संघले भने २० ओभरमा चार विकेट गुमाएर एक सय ३७ रनमात्र बनाउन सक्यो । कञ्चनपुरका लागि दुर्गादत्त पौडेलले एक सय ६ रन बनाएका थिए ।
सोही योगदानका कारण उनी प्लेयर अफ दी म्याच पनि घोषित भए । पदमबहादुर बडैला प्लेयर अफ दी सिरिज घोषित भए । उनले प्रतियोगिता अवधिभरमा कुल तीन सय १२ रन बनाए ।
उनले चार विकेट पनि लिएका थिए । कोहलपुर नगरपालिका कार्यवाहक प्रमुख लालबहादुर रानाले विजेता र उपविजेता टोलीका खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरे ।
उनले नगरपालिको आगामी बजेटमा फरक क्षमता भएका खेलाडीहरुका लागि बजेट विनियोजन गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
तपाइको प्रतिक्रिया दिनुहोस्