काठमाडौँ,०८ जेठ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शनिवार एक प्रेस विज्ञप्ति जारी गरे । जसमा लेखिएको थियो, ‘नेपालको संविधान बमोजिम राष्ट्रपतिले मलाई तत्काल प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्नेमा त्यसलाई इन्कार गर्नुभयो । बरु एक पटक प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भई संसदमा स्पष्ट अल्पमतमा परिसकेका र अर्को पटक बहुमत देखाउन नसक्ने स्वयं घोषणा गरिसकेका माननीय ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने काम गरिन् ।’
तर सभापति देउवाले भनेजस्तो राष्ट्रपति विद्यादेवी भण्डारीले कसैलाई पनि प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइनन् । शुक्रवार राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ, ‘दाबीकर्ता दुवै माननीय सदस्यहरूले संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले उक्त उपधारा (५) बमोजिमका दाबीकर्ता दुवै माननीय सदस्यहरूको दाबी नपुग्ने देखिएकोले प्रधानमन्त्री पदमा नियुक्ति गर्न मिल्ने देखिएन ।’ राष्ट्रपतिले न देउवालाई नियुक्त गरिन्, न ओलीलाई ।
नेपालको संविधानको धारा ७६(५) अनुसार नयाँ प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाले दाबी पेश गरेका थिए । तर ‘विश्वासको मत प्राप्त गर्न सक्ने ठोस आधार नदेखिएकाले’ कसैले पनि प्रधानमन्त्रीमा नियुक्ति पाएनन् । तर शनिवार देउवाले निकालेको विज्ञप्तिमा ओलीलाई नियुक्त गरिएको उल्लेख थियो ।
एक ठाउँमा मात्रै होइन, अर्काे ठाउँमा पनि त्यस्तै देखियो । विज्ञप्तिको तेस्रो अनुच्छेदमा लेखिएको छ, ‘नेपालको संविधानको अक्षर र भावना अनुसार माननीय ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रस्ट अवस्था हुँदाहुँदै त्यस्तो गैर संवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य असंवैधानिक मात्र होइन अनैतिक पनि हो ।’
विज्ञप्तिका अधिकांश ठाउँमा ओलीलाई नियुक्त गरिएकोमा आक्रोश व्यक्त गरिएको छ । नयाँ प्रधानमन्त्री नियुक्त हुन नसकेपछि प्रतिनिधिसभा विघटन गरिएको विषयलाई सामान्य रूपमा व्यक्त गरिएको छ । विज्ञप्तिको एक ठाउँमा मात्रै लेखिएको छ, ‘यी काम राष्ट्रपति र प्रधानमन्त्रीको बदनियतपूर्ण ढंगले मिलोमतोमा षड्यन्त्रपूर्वक भएका छन् भन्ने तथ्य प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा सबै नेपाली जनता सुतेको बेला मध्यराति प्रतिनिधि सभाको हत्या गरेको घटनाबाट प्रमाणित भएको छ ।’ यहाँ पनि ‘प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा’ लेखिएको छ ।
यस्तो विज्ञप्ति जारी गरिएपछि सामाजिक सञ्जालमा आलोचना भयो । त्यसपछि सुटुक्क ‘नेपाली कांग्रेस’ फेसबूक पेजमा नयाँ विज्ञप्ति राखिएको छ, जसमा ‘नियुक्ति’ शब्दलाई हटाएर ‘निरन्तरता’ राखिएको छ ।
सुधारिएको विज्ञप्तिमा पनि ‘प्रधानमन्त्री नियुक्त भएको १ घण्टामा’लाई कायमै राखिएको छ, यहाँनिर सच्याउन बिर्सिएछन् ।
नेपाली कांग्रेस फेसबूक पेजमा सुधारिएको विज्ञप्ति राखिएपनि पार्टी र सभापति देउवाको ट्विटरमा पुरानै विज्ञप्ति छ ।
पहिलो विज्ञप्ति यस्तो थियो –
सच्याइएको विज्ञप्ति यस्तो छ –
सभापति देउवाको विज्ञप्तिमा मात्रै होइन, विपक्षी गठबन्धनका ५ नेताहरूले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिको मिति समेत बिग्रिएको छ । २०७८/२/८ हुनुपर्नेमा २०७८/२/८/७ लेखेर गडबडी भएको छ ।