बालबालिकालाई सिकाउनुपर्छ पैसा बचत गर्ने कला - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

बिचार/ब्लग

बालबालिकालाई सिकाउनुपर्छ पैसा बचत गर्ने कला

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-११
  • सुन्नुहोस् 
1.86K   
बालबालिकालाई सिकाउनुपर्छ पैसा बचत गर्ने कला : Phulbari Khabar

बचत गर्ने बानीले जीवनलाई सरल बनाउँछ । पैसा कति कमाइन्छ भन्दा पनि कमाएको पैसामध्ये कति बचत गरिन्छ, त्यो ठूलो कुरा हो । जब बचत गर्न जानिन्छ तब पैसाको कहिल्यै दुस्ख हुँदैन । त्यसैले बचत गर्ने बानी सानै उमेरदेखि सिकाउनुपर्छ ।

Phulbari Khabar

जसरी हामी सानैदेखि बच्चालाई बिहान उठेर मुख धुन, दाँत माझ्न सिकाउँछौं, त्यसरी नै बच्चालाई पैसा खर्च र बचत गर्न पनि सिकाउनुपर्ने वित्तीय साक्षर अभियन्ता इन्दिरा पन्त बताउँछिन् ।

 ‘बच्चा खर्चिलो वा पैसा बचत गर्ने,  यो उसको सुरुवाती जिन्दगीको अनुभव वा घरको माहोलमा निर्भर गर्छ । यस्तो बानी बाल्यकालदेखि नै विकास हुन्छ,’ उनी भन्छिन् ।यस्तो बानी विकास गर्न खुत्रुके एउटा राम्रो विकल्प हो । बच्चासँग भएको अलिकति पैसा खुत्रुकेमा हाल्नुपर्छ, बचत गर्नुपर्छ भन्ने बानी बस्यो भने त्यो जीवनपद्धतिकै रूपमा विकास हुन्छ । त्यसैले खुत्रुकेको प्रचलन निकै वैज्ञानिक र उपयोगी भएको पन्त बताउँछिन् ।

Phulbari Khabar

पैसा हातमा परेपछि पसल गएर केही खानेकुरा किनेर खाने कि खुत्रुकेमा हाल्ने भन्ने कुराको छनोट बच्चाले त्यहीबाट गर्छ । यसले बच्चामा बचतको बानीसँगै अनुशासनको पनि विकास हुने पन्त बताउँछिन् । जति पैसा कमाए पनि त्यसको सदुपयोग गर्न जानेन भने आज धेरै पैसा कमाउने व्यक्ति भोलि सडकमा पुग्न सक्छन् । त्यसैले सानैदेखि बच्चालाई पैसा बचत गर्न सिकाउनुपर्ने उनी सुझाउँछिन् ।

बालबच्चालाई पैसाको मूल्य कसरी बुझाउने ?

बच्चालाई बचत सिकाउन उसलाई पैसाको मूल्य बुझाउनु पनि महत्त्वपूर्ण भएको पन्त बताउँछिन् । ‘पैसा कमाउने प्रक्रियाको बारेमा पनि बुझाउनुपर्छ । तर पैसा  कसरी कमाउने, कसरी खर्च गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा बच्चालाई न त परिवारले सिकाउँछ न त विद्यालयले,’ उनी भन्छिन् ।

बच्चालाई सानो उमेरमा पैसाको कुरामा संलग्न नै नगराउने अनि पछि ऊ युवावस्थामा पुगेपछि एक्कासि तिमीले अब पैसा कमाउनुपर्छ आर्थिक रूपमा सबल हुनुपर्छ भनिन्छ । यस्तोमा उसलाई पैसाको महत्त्व बुझ्न नै समय लाग्छ । ‘धान त रोपेको ६ महिनापछि फल्छ भने पैसा कमाउने पनि प्रक्रिया हुन्छ भन्ने कुरा सिक्न नै समय लाग्छ,’ पन्त भन्छिन्  ।

नेपाली समाजले पैसाको कुरामा बच्चालाई संलग्न गराउँदैन । पैसाको बारेमा कुरा गर्दा बच्चाले नसुनोस् भनेर ढोका थुनेर गर्छ । तर  आम्दानीको स्रोत के हो,  खर्च कहाँ कहाँ हुन्छ र कति बचत हुन्छ भन्ने कुरामा बच्चालाई सानैदेखि संलग्न गराउनुपर्ने पन्त सुझाउँछिन् ।

‘यसो गर्दा आम्दानी नहुँदा अनावश्यक खर्च गर्नु हुन्न, हाम्रो आर्थिक हैसियत यो हो भन्ने कुरा बच्चाले थाहा पाउँछ,’ पन्त भन्छिन् ।

पैसा बचत गर्न कसरी प्रेरित गर्ने ?

ठूला व्यक्तिले बचत गर्ने भनेको त आम्दानी भन्दा खर्च कम गरेर हो । बच्चाको आम्दानीको स्रोत भने टीका लगाएर पाएको पैसा, खाजा खान दिएको पैसा आदि हुने पन्त बताउँछिन् । बच्चाको हरेक आवश्यकता पूरा गरिदिने अभिभावकको सोच हुन्छ ।

‘यस्तोमा बच्चाले खर्च गर्ने भने अनावश्यक कुरामा हो । अनावश्यक कुरामा पैसा खर्च गर्न हुन्न । तिमीले बचत गरेको पैसाले तिमीले आफ्नो चाहना पूरा गर्न सक्छौ भन्ने कुरा बुझाएर उनीहरूलाई पैसा बचत गर्न प्रेरित गर्न सकिन्छ,’ पन्त भन्छिन्, ‘अलि अलि गरेर जोगाएको पैसा पछि गएर धेरै हुन्छ केही कुरामा पछि तिमीले लगानी गर्न सक्छौं भने उनीहरूलाई बुझाउन सकियो भने पनि बचत गर्न प्रेरित हुन्छन् ।’

बच्चाको खुत्रुकेमा जम्मा भएको रकम बैंकमा जम्मा गरिदिनुपर्छ । यदि बच्चाले बैंकबाट सानो रकम मात्रै ब्याजको रूपमा पाए भने उनीहरूलाई त्यसले झनै प्रोत्साहित गर्न सक्छ । सानो ब्याज रकम पनि बच्चाको लागि ठूलो महत्वको कुरा हुने पन्त बताउँछिन् ।

खर्च गर्ने तरिका सिकाइयो भने बचत पनि हुन्छ

परिवारको मासिक वार्षिक खर्चको योजना बनाउने बेलामा बच्चालाई पनि साथै राख्नुपर्ने वित्तीय साक्षर अभियन्ता पन्तको सुझाव छ  । उनी भन्छिन्, ‘घरमा आम्दानी कहाँबाट हुन्छ, खर्च कुन(कुन ठाउँमा हुन्छ, बच्चाको पढाइमा कति खर्च लाग्छ र बचत कसरी गर्ने लगायत कुरा अभिभावकले स्पष्ट रूपमा बताइदिनुपर्छ । यसरी घरमा अभिभावकले गरेको खर्च व्यवस्थापनको कुराले बच्चाले पनि अनावश्यक कुरामा खर्च गर्न हुँदैन, खर्च कटौती गरेर बचत गर्नुपर्छ भन्ने कुरा सिक्छ ।’ यसबाट ऊ वयस्क भएर कमाउने भएपछि पनि खर्च र बचत गर्ने कला अपनाउन सक्ने उनी बताउँछिन् ।

पैसासँगै डिजिटल मुद्राको महत्व पनि सिकाउनुपर्छ

आधुनिक प्रविधिसँगै डिजिटल पेमेन्ट र मुद्राको प्रचलन बढिरहेको छ । अहिले केन्द्रीय बैंक डिजिटल मुद्रा ९सीबीडीसी०को पनि निकै चर्चा भइरहेको छ । नयाँपुस्तालाई यसबारे जानकारी भए पनि ज्येष्ठ नागरिक र बच्चालाई यसबारे जानकारी कम हुने भएकाले उनीहरुलाई यसबारे सिकाउनुपर्ने पन्त बताउँछिन् ।‘बच्चाहरू पैसा भनेपछि नोट सम्झिन्छन् । तर अहिले त पैसाभन्दा डिजिटल मुद्राको प्रयोग बढी छ, यस्तोमा अभिभावकले आफ्ना बच्चालाई पनि डिजिटल मुद्राको बारेमा पनि आवश्यक ज्ञान दिनुपर्छ,’ उनी भन्छिन् ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च