हामि संग जोडिनुहोस

समाचार

खोप कार्यक्रमः धनगढीका खोप केन्द्रमा नीजि अस्पतालका कर्मचारी

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-६
  • सुन्नुहोस् 
951  
Banner

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ आधारभुत स्वास्थ्य केन्द्रमा खोप अभियानका लागि ज्ञानु कुँवरलाई खटन–पटनको जिम्मेवारी दिइएको छ । कुँवरको कुनै पनि दरबन्दी धनगढी उपमहानगरपालिकामा छैन् । उनी धनगढीमा सञ्चालित नीजि अस्पतालमा कार्यरत हुन् ।

धनगढीको वडा नम्बर ११ स्थित शहरी स्वास्थ्य केन्द्रमा दिपेन्द्र चौधरीलाई उपमहानगरपालिकाले खटाएको छ । उनी पनि नीजि अस्पतालका कर्मचारी हुन् । सो केन्द्रमा एक जनामात्र स्वास्थ्यकर्मी रहेको छ । 

उपमहानगरपालिकाले चौधरी र कुँवरझै खोप अभियानलाई सहयोग गर्न भनी धनगढीमा स्वास्थ्यकर्मी अभाव भएपछि निसर्ग, माया मेट्रो, कैलाली अस्पताल लगायतबाट कर्मचारीलाई भाडामा लिएर खटाएको छ ।

स्वास्थ्य महाशाखा प्रमुख योगेश अवस्थीले खोप अभियानलाई सहयोग पुर्याउन नीजि अस्पतालमा कार्यरत कर्मचारीलाई खटाइएको बताए । उनले भने –‘खोप अभियानलाई सहयोग पुगोस भनेर केही दिन अघि धनगढीले नीजि अस्पतालमा कार्यरत कर्मचारीलाई तालिम पनि दिएको थियो । नीजि अस्पतालबाट खटिएका कर्मचारीले खोप लगाउने होइनन् । उनीहरुले नाम दर्ता, कार्ड वितरण लगायतमा सहयोग गर्ने हुन् ।’ उनले स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मी अभाव भएकोले उनीहरुसंग सहयोग लिइएको बताए ।

नीजि अस्पतालमात्र नभई धनगढीले कैलाली स्वास्थ्य कार्यालयकी ल्याब एसिस्टेन्ट ममता खत्रीलाई पनि स्वास्थ्य केन्द्रमा खटाएको छ । धनगढी उपमहानगरपालिकाले समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिरी रोकेर नीजि अस्पतालका तथा खोपमा अयोग्य व्यक्ति प्रयोग गरिरहेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

धनगढी उपमहानगरपालिकाले ३३ जना समायोजन तथा समायोजन मिलान भएका कर्मचारीको हाजिर रोकेको छ । शुक्रबार पाँचौ दिन पनि स्वास्थ्यकर्मीहरुले धर्ना जारी राखेका छन् ।

धनगढी उपमहानगरपालिकाले साउन महिनामा सञ्चालन गर्ने नियमित खोप अभियानको नयाँ तालिका तयारी गरेको छ । सोही बमोजिम आजदेखि केही वडामा खोप अभियान चलिरहेको छ ।

वडामा जनशक्ति अभाव भएपछि हरेक वडामा एकै साथ अभियान पनि शुरु भएको छैन् । खोपबाट कुनै पनि बालबालिका नछुट्नु भन्ने लक्ष्यसहित धनगढीले एक पटक सबै वडामा खोप अभियान सञ्चालन गर्दै आएको थियो । तर, यस महिना जनशक्ति अभाव हुँदा केही वडामा ढिला गरि खोप अभियान सञ्चालन गरिन लागेको धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख अवस्थीले बताए ।

उपमहानगरपालिकाले तयार पारेको कार्यतालिका अनुसार २, ३, १७ र १९ नम्बर वडामा ढिला खोप कार्यक्रम सञ्चालन हुने उनले बताए । धनगढी उपमहानगरपालिकाले आजदेखि बाँकी वडामा नियमित खोप कार्यक्रम सञ्चालन गर्दै छ । 

महाशाखा प्रमुख अवस्थी भन्छन् –‘सबैलाई खोपको पहुँचमा ल्याउन सबै वडामा एक पटक अभियान सञ्चालन गर्नुपर्ने थियो । तर, जनशक्ति व्यवस्थापनमा समस्या भएकाले केही वडामा ढिला सञ्चालन गरिन लागेको हो । यसले केही बालबालिका खोपको पहुँचबाट वञ्चित हुने देखिन्छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Increase SEO, trust and sales using Google reviews.

ताजा समाचार