कैलाली । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले तीन सातामा धान खरिदको कोटा पूरा भएको जनाएको छ।
कार्तिक ४ गते सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले किसानहरूले धानको समर्थन मूल्य पाए/नपाएको विषयमा अनुगमन गर्न कैलालीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ। किसानहरूबाट नेपाल सरकारले निर्धारण गरेको धानको समर्थन मूल्य नपाएको गुनासो आएपछि मुख्यमन्त्री शाहले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई अनुगमन गर्न तथा धान खरिद खुलाउन पहल गर्न निर्देशन दिएको थियो। मुख्यमन्त्रीको निर्देशन पश्चात प्रमुख जिल्ला अधिकारीले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत धान खरिद प्रक्रिया अघि बढाएको थियो ।
प्रथम चरणमा ३५ हजार क्विन्टल धान खरिद गर्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले अनुमति पाएको थियो। गत वर्ष ५५ हजार क्विन्टल कोटा पाएको प्रादेशिक कार्यालयमा यस वर्ष भने २० हजार क्विन्टल कम कोटा पाएको हो। गत वर्ष धान खरिद प्रक्रिया ढिला हुँदा चार महिनामा ३४ हजार ५ सय ०१ क्विन्टल खरिद गरिएको प्रादेशिक कार्यालय प्रमुख दीपक थापाले बताए। उनका अनुसार यस वर्ष मुख्यमन्त्रीको सक्रियतामा तीन साताभित्र कोटाभन्दा बढी धान खरिद गरिएको छ।
यस वर्ष कैलालीका ६ स्थान र कञ्चनपुरका २ स्थानबाट धान खरिद गरिएको थियो। कैलालीमा प्रथम चरणमा ३५ हजार क्विन्टल धान खरिद कोटा आएकोमा बढाएर ३८ हजार ९ सय ४८ क्विन्टल र कञ्चनपुरमा ५ हजार कोटा आएकोमा ७ हजार ६ क्विन्टल धान खरिद भएको कार्यालयले जनाएको छ।
कार्तिक ११ गतेदेखि खरिद सुरु गरेको कार्यालयले मोहनापुर गोदामबाट ५ हजार ९ सय ८४.८७ क्विन्टल, टीकापुर गोदामबाट ९ हजार ८ सय ७७.०९ क्विन्टल, भजनी खरिद केन्द्र (मंसिर १४ गतेदेखि) बाट ५ हजार ७ सय ४२.०५ क्विन्टल, सति गोदामबाट ७ हजार ९ सय ०७ क्विन्टल, त्यस्तै सति गोदामबाट मंसिर ७ गते ५ सय २२.५१ क्विन्टल, कार्तिक १४ गते सुरु गरिएको जोशीपुर खरिद केन्द्रबाट ४ हजार ६ सय क्विन्टल र गौरीगंगा खरिद केन्द्रबाट ४ हजार ३ सय ०४ क्विन्टल मोटा धान खरिद गरिएको छ।
त्यसैगरी कञ्चनपुर जिल्लाका लागि आएको ५ हजार क्विन्टल धान खरिदका लागि महेन्द्रनगर खरिद केन्द्रबाट ६ हजार ०१९ क्विन्टल र पुनर्वास खरिद केन्द्रबाट ९ सय ८७ क्विन्टल गरी जम्मा ७ हजार ६ क्विन्टल धान खरिद गरिएको कार्यालयले जनाएको छ।
सोमबार मुख्यमन्त्री शाहले अर्थमन्त्री रामेश्वर खनाललाई सुदूरपश्चिममा किसानहरूका लागि थप आवश्यक ५० हजार क्विन्टल धान खरिदका लागि कोटा बढाइदिन अनुरोध गरेको थियो। यस्तै खेतीको समयमा मलखाद अभाव नहोस् भनेर आवश्यक परिमाणमा उपलब्ध गराउन पनि उनले अनुरोध गरेको थियो।
कैलाली–कञ्चनपुर जिल्लामा वार्षिक १० लाख क्विन्टल धान उत्पादन हुने गरेकोमा किसानले त्यसमध्ये करिब तीन लाख क्विन्टल उपभोग गर्ने तथा बाँकी धान बिक्रीका लागि राख्ने गरेका छन्। जसमध्ये खाद्य, स्थानीय गल्ला व्यापारी र मिलहरूले खरिद गर्ने गरेका छन्।











तपाइको प्रतिक्रिया दिनुहोस्