लवदेव धामी, यतिबेला नेपाल अर्थात् हाम्रो देश विषम परिस्थितिमा छ। एउटा अकल्पनीय घटनाले देश तहस नहस भएको छ। यत्रतत्र खरानी मात्रै अवशेषका रुपमा बाँकी रहेको छ। हामी आफैले देशको विनाश गरेका छौं । परिवर्तन खोज्ने नाममा विनाश निम्त्याएका छौं। यति बेला देश अभिभावक विहीन बनेको छ।
बिना नीति नियम , विधि-विधान कुनै योजना यकिन नगरेर देशलाई रणभूमि बनाइएका छौं । म पनि यही 'जेन जी' पुस्ताको मान्छे हुँ। तर म जस्ता कैयौले देशको सर्वनाश गरेर अवसरवादको कुर्सी खोजेका पक्कै पनि थिएनन् । निरंकुशता, तानाशाह ,भ्रष्टाचार मौलाएको पक्कै पनि हो तर योजना बिहिन अवस्थामा विदेशी शक्तिको बहुकाउमा लागेर हामीले उचालेको यो कदम हामी आफैलाई भारी भएको छ। म सुरुमा हामीले के पायौं यसमा जान चाहे । धेरैले भनिरहेका छन् धेरैथोक अब हाम्रो भएको छ। तर शासन सत्तामा मात्तिएका भ्रष्टाचार लिप्त केही नेता भगाउन बाहेक अरु केही गर्न सक्यौ र खै ? हो ; यो ठूलो सफलता हो । शासन सत्ता हातमा लिएका छौं। अब हातमा लिइसकेको शासन सत्ता कसलाई सुम्पिने ग्रहण गर्ने कोही छ ? जो तपाईँ हामी सबैले चाहेको र खोजेको होस् । पक्कै पनि छैन ; यी र यस्तै यावत विचारहरू सबै कहाँ आइरहेका छन्। अहिले शासन गरि दिनुपर्यो भनेर हात जोड्नु परेको अवस्था छ। योभन्दा ठूलो झोलेवाद र गुलामी सायद अरु हुन सक्दैन ए 'जेन जी' युवाहरू हो ।
मलाई यो पनि थाहा छ म जस्ता कैयौँ युवा अहिले सिंहदरबार उच्च अदालतको आगोले गिजाईरहँदा पछुतोको तलाउमा डुबुल्की पनि मार्दैछन् । सोचिरहेका छन्, सबै जलाएर हामीले के पायौ ; हामी त बनाउन, परिवर्तन गर्न गएका थियौँ। यो कसरी भयो , हामीले साथी गुमायौ तर न्याय पाउन सकेनौ, आँखै अगाडि देशको कार्यपालिका न्यायपालिका र व्यवस्थापिका खरानी हुँदा किन कसैले रोकेनन्। किन कि यी सबै विनाश हुनुमा हामी 'जेन जी' नै जिम्मेवार छौँ। हामीले नस्वीकारे पनि एक-एकले भन्दै छ। यो सबै गरेको विनास 'जेन जी' युवाले नै हो । भलै हामीले गरेका थिएनौं पनि हुँला ।
जसरी १० वर्षे जनयुद्धको अपराध आजसम्म प्रचण्डको टाउकोमा थुपारिएको छ। त्यसैगरी अकालमै हाम्रा युवा साथीको सहादत्त र देशलाई २० औँ वर्ष पछाडि पुर्याएको सँगै पुर्खाको इतिहास मेटाएको आरोप भावी पुस्ताले हामीलाई पक्कै पनि लगाउने छन्। सोध्ने छन्; कि सबै खरानी नै बनाउनु आवश्यक थियो र ?
हामी आज जस्तै जवाफविहीन हुने छौं। किन कि हामीलाई थाहै छैन, यो कसले गर्यो एकैछिनमा भनेर, हामी त शान्तिपूर्ण नारा लगाउँदै थियौ। कसरी जेलबाट हजारौं अपराधी फरार भए, कसरी सबै नेताले एकाएक राजीनामा दिए, कसरी कोही बेपत्ता भए, कोही हायलकायल भए, कसरी छानीछानी कार्यालय भवन, राष्ट्रिय सम्पदा ध्वस्त भए यी सबै विषयमा अधिकांश 'जेन जी' पुस्ता अनविज्ञ नै छ। किन कि अधिकांशले शान्तिपूर्ण आन्दोलनबाटै मार्ग खोजेका थियौं।
यहाँ सबैले जेन्जी पुस्ताको नाममा फाइदा उठाउनु सम्म उठाए ; नेपालका ऐतिहासिक सम्पदा जल्नु, ठुलाठुला व्यापारीका व्यवसायमा क्षति हुनु, कर कार्यालय जल्नु, मालपोत जल्नु, जिल्ला प्रशासन जल्नु, यातायात कार्यालय जल्नु, भन्सार कार्यालय जल्नु यहाँ सबै क्षेत्रमा सबैले क्षति नगरे तापनि आफ्नो स्वार्थ जहाँ बाँझिएको थियो ; त्यही त्यही समाप्त पारेको अवस्था पक्कै पनि हो।
उच्च अदालत देखिका जिल्ला अदालत अपराधिक गतिविधिका नाइकेहरुले ध्वस्त पारे, त्यस्तै कर तिर्न आनाकानी गर्नेले कर कार्यालय ध्वस्त पारे। सबै सुनियोजित तवरले गरे तर दोष जति निर्दोष 'जेन जी'मा थुपारियो।
अब भन्नुस् हामीले के पायौं ; हामी र वर्तमान समयका अवसरवादी तानाशाही निरंकुश शासकमा के फरक रह्यो ? धेरैको जवाफ होला परिवर्तन चाहनेले थोरै विनाशको सामना गर्नुपर्छ, म पनि मान्छु। तर विनाश भइसकेपछि पनि किन निकास पाउन सकेको छैनौं । यहाँ भने सबैले गम्भीर हुनुपर्ने आवश्यकता छ। यहाँ भने अवस्था फरक देखिएको छ। दीर्घकालीन योजना बिना नै महाभारतको कुरुक्षेत्रको युद्धमा अभिमन्युले चक्रव्युहुँ तोडे जस्तै हामीले पनि सत्ता त तोड्यौं तर अभिमन्युका जस्तै हामी पनि यही भित्र मार्गविहीन बनिसकेका छौं ।अन्त्यमा देश जलाउन जति सजिलो भयो चलाउन पक्कै पनि छैन। हामी सबैले छोटो समयमा नै यो आभास गरिसकेका छौं। यद्यपि अबको हाम्रो निर्णयले वर्तमान र भविष्यको सुनिश्चित गर्ने भएकाले दीर्घकालीन सोच र विचार गर्नु आवश्यक छ। नत्र 'जेन जी' नामक शब्द इतिहासमै धब्बा बनेर कालान्तरसम्म रहिरहनेछ ।










तपाइको प्रतिक्रिया दिनुहोस्