धनगढी। आर्थिक वर्ष २०८२र८३ को बजेट तथा कार्यक्रममा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीवार प्रस्तुत गरेको सुदूरपश्चिम प्रदेशको बजेटमा महत्वपूर्ण योजना समेटिएका छन्।
बजेट कार्यक्रममा निजी तथा पर्यटन बोर्डको सहकार्यमा कञ्चनपुरको दैजीछेला औद्योगिक क्षेत्र निर्माण अगाडि बढाइने उल्लेख छ। पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न शुक्लाफाँटा–खप्तड पदयात्रा निर्माण, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण, पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको कार्यसँगै महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी खण्डको स्तोरन्नति गरिने बजेटमा भनिएको छ।
पूर्वपश्चिम राजमार्गको गड्डाचौकी–अत्तरिया सडकखण्डको स्तरोन्नतिको लागि २१ अर्ब १९ करोड बजेट विनियोजन गरिएको छ। लुम्बिनी, कर्णाली र सुदूरुपश्चिम प्रदेशका मध्ये तथा उच्च पहाडी जिल्लाका ८० स्थानीय तहमा उच्च मूल्यका बालीको खेती प्रवद्र्धन गर्न ८३ करोड बजेट विनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षभित्र लगत सङ्कलन र प्रमाणीकरण गरी पाँच लाख परिवारलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा उपलव्ध गराइने छ। पर्यटन प्रवद्र्धन गर्न प्रदेशको शुक्लाफाटा, खप्तड रामारोशन, बुढीनन्दामा पदामर्ग विकास गरिने अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट कार्यक्रममा छ।
डडेल्धुराको अजयमेरु विमानस्थलको विस्तृत प्रतिवेदन तयार गर्न बजेट विनियोजन गरिएको छ। कैलालीको गेटामा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ल्याइने छ। डडेल्धुरामा निर्माणाधीन तथा प्रस्तावित मेडिकल कलेजको पूर्वाधार निर्माणको कार्य अगाडि बढाइने छ। कैलाली कञ्चनपुरलगायत जिल्लामा बसोवास रहेको थारु समुदायका व्यक्तिमा गम्भीर स्वास्थ्य समस्याका रुपमा रहेको सिकलसेल एनेमिया रोगको निदान तथा उपचारका लागि नवीनतम प्रविधि अवलम्बन गरिने छ।
कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट स्टेडियम निर्माणको कार्य अगाडि बढाइने भएको छ। दोधारा–बरेली ४००केभी क्षमताको राष्ट्रिय तथा अन्तरदेशीय प्रसारण लाइनको निर्माण अगाडि बढाइने भएको छ। चमेलिया–जौलजीबी २२० केभी प्रसारण लाइनको अध्ययन सम्पन्न गरी निर्माण सुरु गरिने भएको छकैलालीमा निर्माणाधीन राष्ट्रिय गौरवको रानी जमरा कुलरिया आयोजनाबाट उत्पादन हुने विद्युत् बिक्री गरी प्राप्त हुने रकम नेपाल सरकारको सञ्चित कोषमा दाखिला गरिने बजेट कार्यक्रममा उल्लेख छ। रानी जमरा कुलरिया आयोजना र महाकाली सिँचाइ आयोजना आगामी तीन वर्षभित्र सम्पन्न गरिने छन्।
कञ्चनपुर कैलालीलगायत जिल्लामा निर्माणाधीन रहेको हुलाकी राजमार्गको निर्माण दुई वर्षभित्र सम्पन्न गरिने छ। पूर्वपश्चिम राजमार्गदेखि जिल्ला सदरमुकाम जोडने मोहनापुल–अत्तरिया सडकमा व्यापारिक मार्गको निर्माण कार्य सम्पन्न गरिने छ। डडेल्धुराको रुपालसम्मको बस्ती र बजारलाई जोडन मदन भण्डारी राजमार्ग निर्माणका लागि दुई अर्ब ५१ करोड बजेट विनियोजन गरिएको छ। अत्तरिया–खोडपे–दार्चुला सडकखण्डको विस्तृत अध्ययन सम्पन्न गरी ‘डिडिकेटेड डवल लेन’ मा स्तरोन्नति सुरु गरिने छ।
महाकाली करिडोरअन्तर्गत ब्रम्हदेव–झुलाघाट–तुसारपानी सडकखण्डको स्तरोन्नति गर्न र तुसारपानी–टिंकर सडकखण्डको ट्रयाक खोल्न आवश्यक बजेट विनियोजन गरिएको छ। रणनीतिक तथा व्यापारिक महत्वका खुटिया–दिपायल लगायतका सडकको स्तरोन्नति गर्न आवश्यक रकम विनियोजन गरिएको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्