सर्वोदय माविमा उत्कृष्ट नतिजापछि अभिभावकलाई सम्मान, विद्यार्थीका लागि बनभोज कार्यक्रम - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

समाचार

सर्वोदय माविमा उत्कृष्ट नतिजापछि अभिभावकलाई सम्मान, विद्यार्थीका लागि बनभोज कार्यक्रम

  • Logo
    यज्ञराज अवस्थी
  • Logo
    २०८१-१२-२८
  • सुन्नुहोस् 
 
सर्वोदय माविमा उत्कृष्ट नतिजापछि अभिभावकलाई सम्मान, विद्यार्थीका लागि बनभोज कार्यक्रम

धनगढी । धनगढी उपमहानगरपालिका–१४ स्थित सर्वोदय माध्यमिक विद्यालय, “सि” गाउँमा आयोजित एक विशेष कार्यक्रममा अभिभावकहरूलाई सम्मान गरिएको छ। आधारभूत तह ९कक्षा–८० मा उत्कृष्ट नतिजा ल्याउन अभिभावकहरूको महत्त्वपूर्ण भूमिका रहेको भन्दै उनीहरूलाई विद्यालयले सम्मान गरेको हो।

कार्यक्रममा कक्षा ८ उत्तीर्ण विद्यार्थीहरूले आफ्ना अभिभावकलाई खादा लगाएर सम्मान गरे भने अभिभावकहरूले विद्यार्थीहरूलाई टिका लगाई आशीर्वाद दिएका थिए। सम्मानको यो शैली र विद्यालयका शिक्षकहरूको समर्पणलाई अभिभावकहरूले प्रशंसा गरेका छन्।

विद्यालयका प्रधानाध्यापक धर्मानन्द अवस्थीका अनुसार विद्यार्थीहरूको मेहनतको कदर स्वरूप आगामी चैत २९ गते शिक्षक तथा विद्यार्थीहरूका लागि बनभोज कार्यक्रमको आयोजना गरिएको छ।

यस वर्ष कक्षा ८ मा परीक्षा दिएका ६२ विद्यार्थीमध्ये ५९ जना उत्तीर्ण भएका छन्। जसमध्ये १३ जना विद्यार्थीले ए प्लस, ३८ जनाले ए, र ८ जनाले बी प्लस ग्रेड ल्याएका छन्। दुई जना विद्यार्थी ग्रेड वृद्धि सूचीमा परेका छन् भने एक जना विद्यार्थी ननग्रेडमा परेको विद्यालयका निवर्तमान प्रधानाध्यापक जितबहादुर चौधरीले जानकारी दिए।

धनगढी उपमहानगरपालिकाले  प्रकाशित गरेको नतिजामा यो शैक्षिकसत्रमा ४४ सामुदायिक विद्यालयबाट दुई हजार ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा एक हजार २३३ जना उतिर्ण भएका थिए । जसमा सर्बोदय माबिले ९५.१६ प्रतिशत नतिजा ल्याई सामुदायिक विद्यालय तर्फ सर्वोत्कृष्ट भएको बिद्यालयले  जनाएको छ ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदिश चौधरी, शिक्षक अनिल कुश्मी र सुनिता चौधरीले विद्यार्थीहरूको प्रगतिको खुशी व्यक्त गरे। कार्यक्रमको सञ्चालन शिक्षक रघुनाथ चौधरीले गरेका थिए। शिक्षक, अभिभावक तथा विद्यालय परिवारको उल्लेखनीय सहभागितासँगै कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको थियो।

तपाइको प्रतिक्रिया दिनुहोस्