हामि संग जोडिनुहोस

अन्तर्वार्ता

खाद्यान्नमा आत्मनिर्भर हुने लक्ष्य छ

  • Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-३२
  • सुन्नुहोस् 
564  
Banner

भजनी नगरपालिका कैलाली जिल्लाका अन्य पालिकाभन्दा फरक र छुट्टै विशेषता भएको पालिका हो। पूर्वमा पथरैया, पश्चिममा कान्द्रा, बिच भागमा काँडा नदी रहेका छन्। यी नदीहरू दक्षिणको मोहना नदी हुँदै कर्णालीमा मिल्छन् । कर्णाली नदी बढेमा मोहना नदी थुनिन्छ । मोहना थुनिएपछि पथरैया, काँडा र कान्द्राले पालिकाका सबै वडालाई डुबाउँछ । भजनी यस जिल्लाको पञ्चायतकालीन केन्द्र भए पनि अहिले भने अन्य सहरको तुलनामा ओझेलमा परेको छ । जिल्लाका अरू सहरी क्षेत्रले विकासमा फड्को मार्दै गर्दा भजनी भने नदी तटीय र डुबान क्षेत्रका रूपमा विभिन्न समस्या झेल्दै आएको छ । भजनीमा ३२ वटा ताल, ठुलो वन क्षेत्र र दुर्लभ जलचर डल्फिन प्रमुख आकर्षकका रूपमा रहेका छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजित हुनुभएका केवल चौधरी २०७९ सालको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नगर प्रमुखमा निर्वाचित हुनुभएको हो । भजनी नगरपालिका प्रमुख चौधरीसँग गोरखापत्र टीकापुर समाचारदाता एकिन्द्र तिमिल्सेनाले नगरको विकास तथा समस्याका विषयमा गरेको कुराकानी हामीले गोरखापत्रबाट साभार गरेका हौँ। 

भजनी नगरपालिकाको नेतृत्वले प्रशासनिक कामकारबाहीबाहेक अन्य नयाँ काम के गर्दै छ ?

विकासका कार्यक्रम अघि बढिरहेका छन्। बर्खाका बेला नदीले धेरै नोक्सान गरेको स्थानमा र बजेट नभएको ठाउँमा जैविक तटबन्ध बनाउने काम जारी छ। शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता दिएर काम गरिरहेका छौँ। 

तपाईं नगर प्रमुख भएको डेढ वर्षको अवधिमा भजनी नगरवासीले के पाए ?

अन्य योजना कटाएर पनि कक्षा १० सम्म निःशुल्क शिक्षा बनाएका छौँ। प्राथमिक स्वास्थ्य केन्द्रमा लगानी बढाएर नगर अस्पतालका रूपमा विकास गर्दै छौँ। कृषि बाली जोगाउन छाडा पशुचौपायलाई पूर्ण रूपमा नियन्त्रण गरेका छौँ। यो नगरपालिकामा वर्षामा डुबान हुन्छ र खाद्यान्न फल्दैन। त्यसैले हिउँदे खेतीमा विशेष जोड दिने योजना बनाएका छौँ। हिउँदे खेतीबाटै खाद्यान्न आपूर्ति होस भन्नका लागि सबै वडामा सिँचाइ उपलब्ध गराउने लक्ष्य रहेको छ। सिँचाइका लागि बोरिङ तथा विद्युतीकरण गर्न दुई करोड बजेट छुट्याएका छौँ।

नगरवासी तपाईंको कार्यशैलीप्रति कत्तिको सन्तुष्ट छन् ? 

भर्खरै वडा नम्बर ३, ६ र ८ मा बाढी तथा डुबानले नागरिक समस्यामा परेपछि हरेक दिन त्यही पुगिरहेको छु। नगर प्रमुख निर्वाचित भइसकेपछि कसैलाई काखा र पाखा गर्नु हुँदैन। यस वर्ष वडाको सिलिङ नै हरेक वडालाई दामासाहीका रूपमा ७७ लाख ७७ हजार ७७७ रुपियाँका दरले बजेट विनियोजन गरेका छौँ। नगरवासी सन्तुष्ट नै छन्।

सङ्घीय संरचनामा स्थानीय सरकार शक्तिशाली हुन्छ भन्छन्, तपाईंहरूको शक्ति कहाँ कसरी प्रयोग भइरहेको छ ? 

संविधानले तोकेको अधिकारका हिसाबले स्थानीय तह शक्तिशाली छ। तर, पाएको अधिकार सबै प्रयोग गर्न खोज्दा रावण कै हालत हुने देखिन्छ, किन कि अधिकार अनुसारको क्षमता छैन। सधैँ डुबान हुने वडा नम्बर ५ को पुलियापुरका १५ परिवारलाई उच्च स्थानमा घर बनाएर दियौँ। यस वर्ष ५० घर बनाउने योजना छ। बाटाघाटा र सडक पूर्वाधार बन्दै छन्। केही अधिकार प्रयोग गर्न बुद्धिमतापूर्ण व्यवहार र जमर्को गरिरहेका छौँ। 

तीन वटै तहका जनप्रतिनिधि एउटै पार्टीको हुनुहुन्छ रु बजेट प्रवाह कस्तो छ ? 

हेर्दाखरी राम्रै देखिन्छ केही योजना पनि हाल्नुभएको छ। राम्रै गर्नुहोला भन्ने आशामा छौँ १ पालिकाको बजेट ६५ करोड रुपियाँ जति छ त्यसमा विकास बजेट साढे १० करोड मात्रै हो। सङ्घबाट आठ दस करोडका योजना छन् सिँचाइबाट १४ करोड जतिको बजेट तटबन्धमा छ भन्ने सुनेको छु। प्रदेशबाट चाररपाँच लाखका साना योजनाहरू पनि छन्। राम्रै भन्न सकिने अवस्था छैन हामीले गरेका वाचा र गरेको अपेक्षा अनुसार बजेट आएको छैन। 

विकास निर्माणका लागि पालिकाले आफ्नै आय बढाउनुपर्ने दबाब छ नि, यहाँको आन्तरिक आय कस्तो छ ?

भजनीमा ३२ वटा ताल छन् त्यहाँबाट २०७४ सालदेखि कै ठेक्काको रकम साढे चार करोड उठ्न सकेको छैन। नदीनालामा डुङ्गा ठेक्कामा छन्। वन क्षेत्र छ तर उपयोग हुन सकेको छैन। वर्षाभरि डुबान हुने जग्गामा कर पनि धेरै उठाउन सकिँदैन। वार्षिक आन्तरिक आय दुई करोड पनि नआएको साँचो हो। खुला सिमानाका कारण व्यापार व्यवसाय राम्रो छैन नागरिकको कर तिर्ने क्षमता छैन त्यसैले नगरपालिकाको आय कमै छ। 

यस नगरपालिकामा उपभोग खर्च र बेरुजु टन्नै छ, सुशासन कायम राख्न के पहल गर्नुभएको छ ? 

भोकै त कोही बस्दैन। कामै नगरी खानु गलत हो। कर्मचारीहरू पनि भत्तै खान खोज्ने समस्या छ। जनप्रतिनिधिलाई दिनै प(यो। खर्च घटाउनु होस् भनेको छु। नगरपालिकाले उत्सव चाडपर्व धेरै मनाउनु हुँदैन भनेर खर्च कटौती गरेका छौँ। विगतका वर्षमा बोका काटेर पूजा गर्ने परम्परा हटाएर नरिवल फोडेर पूजा गर्न थालिसकेका छौँ। म त होटलमा चिया पनि नखाने मानिस हुँ। फजुल खर्च घटाउनतर्फ लागेको छु। खर्च बढाउने र नाम मात्रका तालिमलाई घटाउन खोजेका छौँ। 

नागरिकको आयस्तर बढाउन के कस्ता काम भइरहेका छन् ? 

यहाँ कृषि र वन स्रोतमा केन्द्रित उद्योगहरूको सम्भावना छ। बेलको जुस बनाउने उद्योग खुलेको छ, वन क्षेत्र धेरै भएकाले जडीबुटी खेतीको सम्भावना छ। यसलाई विस्तार गर्न पालिकाले के गर्न सक्छ प्रस्ताव ल्याउन भनेका छौँ। पुरानो भन्सार बन्द छ तर सीमा खुला भएकाले पाँच सयको सामान किन्न पनि भारत जान्छन् स्थानीय बजार सुकेको छ। सरकारले कि भन्सार खोल्नुपर्छ कि सीमा राम्ररी बन्द गरिदिनुपर्छ। 

भजनीको विकासमा चुनौती के देख्नुभएको छ ? 

धेरै नदी हुनु र बाढी–डुबान हुनु यहाँको मुख्य चुनौती हो। विकासका काम ग(यो, बाटोघाटो बनायो, कृषिमा गरेको लगानी हरेक वर्षामा शून्य हुन्छ। चार वटा नदीबाट लाभभन्दा नोक्सानी धेरै छ। 

यस्तो चुनौती सामना गर्न तपाईं र पालिकाको योजना के छ ? 

चारवटै नदीमा आवश्यक ठाउँमा तटबन्ध हुनुपर्छ। भजनी कैलालीका १३ वटै पालिकाको पानी झर्ने ठाउँ हो, डुबानमा पर्छ। सङ्घीय र प्रदेश सरकारलाई भजनीलाई विपत्ग्रस्त क्षेत्र घोषणा गरियोस् भन्ने माग गरेको छ। डुबान क्षेत्रका बस्तीका सबै घरको जग उँचो बनाउन अनुदान दिनुपर्छ। हिउँदे खेतीले गुजारा गर्नुपर्ने तर हिउँदमा खेती कम फल्ने भएकाले सरकारी अनुदान पनि चाहिन्छ। चारवटा नदीमा तटबन्ध बनाउन ठूलै लगानी चाहिन्छ यसका लागि माथिल्लो सरकारको सहयोग चाहिन्छ। भारतले बनाएको गिरिजापुरी ब्यारेजले कर्णाली थुन्दा यस पालिका भएर बग्ने नदीहरू थुनिने र डुबान हुने भएकाले बाढीका बेला त्यो बाँध खोल्ने व्यवस्था गर्न सङ्घीय सरकारले पहल गर्नुपर्छ।


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार