कैलाली र कञ्चनपुरमा फैलिँदै आँखा पाक्ने रोग - Phulbarikhabar.com
हामि संग जोडिनुहोस

स्वास्थ्य

कैलाली र कञ्चनपुरमा फैलिँदै आँखा पाक्ने रोग

  • Phulbari Khabar Logo
    फूलवारी खवर
  • Logo
    २०८०-४-२१
  • सुन्नुहोस् 
1.77K   
कैलाली र कञ्चनपुरमा फैलिँदै आँखा पाक्ने रोग : Phulbari Khabar

धनगढी।कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण दिनानुदिन बढ्दै गएको छ। पछिल्लो दुई साता यता कैलाली र कञ्चनपुरमा आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएको हो। आँखा पाक्ने रोगका कारण अहिले दैनिक सयौंको संख्यामा बिरामीहरु आँखा उपचारका लागि अस्पताल पुग्ने गरेका छन्।

Phulbari Khabar

बालकदेखि वृद्धसम्ममा आँखा पाक्ने, आँखा चिलाउने, आँखाबाट आँसु बग्ने जस्ता लक्षण देखिने गरेको छ। आँखाको समस्या देखिएसँगै गेटा आँखा अस्पतालका साथै धनगढी नेत्रालयमा उपचारका लागि बिरामीहरु आउने गरेका छन्।अहिले दैनिक डेढ सयदेखि दुई सय जना बिरामीको आँखा चेकजाँच गरिरहेको बताउँदै धनगढी नेत्रालयका दृष्टि विशेषज्ञ डाक्टर जिवानन्द बिष्टले भने, ‘सामान्य भाषामा ‘भाइरल रोग’ भनिए पनि ‘कन्जन्टिभाइटिस’ भाइरसका कारण यो रोग अहिले व्यापक रुपमा फैलिरहेको छ।’ आँखा चिलाउने, आँखा सुनिने, पाक्ने तथा आँसु बग्ने र कहिले काहीँ आँखाको नानीमा घाउ हुने समस्या पनि देखिने गरेको उनले बताए।

मानिसको सम्पर्कबाट यो रोग सर्ने गरेको बताउँदै उनले भने, ‘रोगीको सामग्री प्रयोग गर्ने, हात मिलाउने तथा मानिसको प्रत्यक्ष सम्पर्कबाट भाइरस सर्ने गर्छ। त्यसका लागि सचेतना अपनाउनु जरुरी छ।’

Phulbari Khabar

पछिल्लो समयमा अस्पताल पुग्ने ९० प्रतिशत बढी बिरामी आँखा पाक्ने रोगका बिरामी उपचारका लागि आउने गरेको उनले बताए। बच्चालाई चाँडो सन्चो हुने भए पनि युवा तथा ज्येष्ठ नागरिकलाई भने सन्चो हुन एक हप्तादेखि दुई हप्तासम्म लाग्ने गरेको उनी बताउँछन्।

यो समय भनेको आँखा पाक्ने समय भए पनि ‘कन्जन्टिभाइटिस’ भाइरस बढी सक्रिय हुने भएकाले रोग भयावह देखिएको उनले बताए। आँखाको बिरामीले दैनिक चाररपाँच पटक चिसो पानीले आँखा सफा गर्ने, आँखालाई नमिच्ने तथा चिकित्सकको सल्लाह बमोजिम औषधि प्रयोग गर्दा रोग सन्चो हुने गरेको चिकित्सकहरु बताउँछन्।

आँखा पाक्ने रोग जटिल नभए पनि चिकित्सकको सल्लाह बिनाको औषधि प्रयोग नगर्न चिकित्सकहरुले सुझाएका छन्। ‘रोग लागेपछि आँखा चेकजाँच नगरिकनै औषधी प्रयोग गर्ने, फोहोर हातले आँखा मिच्ने जस्ता कार्य गर्नु हुँदैन,’ डा। बिष्टले भने, ‘अहिले आँखा पाक्ने वित्तिकै मानिसहरु औषधि पसलमा गएर चेकजाँच बिनै औषधि प्रयोग गर्ने गरेका छन्, जसले गर्दा आँखामा दीर्घकालीन असर पर्न सक्छ।’

अहिले आँखा पाक्ने रोग ह्वात्तै बढेका कारण भिडभाडमा नजाने, भौतिक दूरी कायम गर्ने जस्ता सजगता अपनाउनु जरुरी रहेको उनी सुझाउँछन्। बढीजसो विद्यार्थीहरुबाटै आँखा पाक्ने रोग सर्ने गरेको बताउँदै उनले भने, ‘अहिले महामारीका रुपमा आँखा पाक्ने रोग फैलिरहेकाले विद्यालयमा भौतिक दूरी कायम गरेर पठनपाठन गर्दा उपयुक्त हुन्छ।’

अस्पतालमा पनि बढीजसो बालबालिका नै उपचारका लागि आउने गरेको उनी बताउँछन्। ‘स्कुले बालकालिका नै उपचरका लागि आउने गरेका छन्,’ उनले भने, ‘यसबाट पनि बालबालिकाबाट घरपरिवार तथा अभिभावकमा समेत आँखा पाक्ने रोग सरेको देखिन्छ।’


तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ताजा अपडेट ट्रेन्डिङ्ग युनिकोड Speed Test सर्च