काठ्माण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ४० बुँदे मागपत्र बुझाउने भएको छ । राप्रपाले राजनीतिक, जनजीविका, सुशासनलगायतका विषयमा तयार पारेको ४० बुँदे मागपत्र प्रधानमन्त्री प्रचण्डलाई बुधबार बुझाने भएको हो ।
काठमाडौं उपत्यकामा प्रदर्शनसहित अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्रीलाई मागपत्र बुझाउने छन् । यस्तै उपत्यकाबाहिर ७४ जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत जिल्ला अध्यक्षहरूले एउटै मागपत्र बुझाउने कार्यक्रम छ ।
‘प्रधानमन्त्रीले नेतृत्व गरेको माओवादीले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवालाई ०५२ माघमा ४०बुँदे मागपत्र बुझाएको थियो ।
संयोगवश हामी प्रधानमन्त्री प्रचण्डलाई ४०बुँदे मागपत्र बुझाउँदै छौँ,’राप्रपा प्रवक्ता मोहन श्रेष्ठले नयाँ पत्रिकासँग भने, ‘हाम्रा राजनीतिक मान्यता, सुशासन र भ्रष्टाचारसँग सम्बन्धित विषयहरू र अन्तर्राष्ट्रिय सम्बन्धका विषयमा जनताका तर्फबाट मागपत्र दिँदै छौँ ।’
राप्रपाले दिउँसो १ बजे भृकुटीमण्डपमा प्रदर्शन गर्ने कार्यक्रम राखेको छ । राप्रपा अध्यक्ष लिङ्देन संयोजक रहेको आन्दोलन मूल समितिले मागपत्र तयार पारेर मंगलबार अन्तिम रूप दिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्