धनगढी। सुदूरपश्चिम प्रदेश तथा स्थानीय तहमा संघिय सरकारले आगामी आर्थिक वर्षमा बजेट घटाएर विनियोजन गरेको छ । सोमबार संघ सरकारले चालु आर्थिक वर्षभन्दा आगामी आर्थिक वर्ष २०८० ८१ का लागि बजेट घटाएर विनियोजन गरेको हो।
अर्थमन्त्री डाक्टर प्रकाशशरण महत्तले आर्थिक वर्षको बजेट भाषणमा बजेट घटाएर विनियोजन गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा चालु आर्थिक वर्षमा १४ अर्व ६१ करोड ७५ लाख चार हजार रकम विनियोजन गरिएकोमा आगामी आर्थिक वर्षका १४ अर्ब ४२ करोड १९ लाख रकम विनियोजन गरिएको छ । मन्त्रालयले सार्वजनिक गरेको वित्तिय अन्तर वित्तिय हश्तान्तरण पुस्तिकामा प्रदेशमा पुँजीगततर्फ ३ अर्ब ९९ करोड २५ लाख तथा चालुतर्फ १० अर्ब ४२ करोड ९४ लाख विनियोजन गरिएको उल्लेख गरेको छ।
प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ आठ अर्व ६८ करोड ४१ लाख, सशर्त अनुदानतर्फ चार अर्व ५१ करोड १६ लाख, विशेष अनुदानतर्फ ६२ करोड र समपूरक अनुदानतर्फ ७७ करोड रकम विनियोजन गरिएको पुस्तिकामा उल्लेख छ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहसहितको संयूक्तटोलीले अर्थमन्त्री महतसंग भेटघाटमा बजेट र समग्र विकासका लागि प्रदेशलाई विशेष ग्राहयता दिने माग राखेका थिए । तर प्रदेश आर्थिक मामिला मन्त्री नरेशबहादुर शाहीले सार्वजनिक भएको बजेट कटौतिले संघिय सरकारले प्रदेशको विकासमा ध्यान दिन नसकेको बताएका छन्।
उनले सुदुरपश्चिम प्रदेशलाई प्राथमिकता दिनुपर्ने अवस्थामा र विकास सूचांकमा पछाडि रहेको प्रदेश सहयोग गर्नुपर्ने भएपनी बजेटमा अनुदानहरु घटउँदा संघ सरकारले अन्याय गरेको बताए। संघिय सरकारले प्रदेश सरकारमा मात्र नभई स्थानीय तहलाई वितरण गर्दै आएको अनुदानमा कटौति गरेको छ। प्रदेशको १ उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिका गरी ८८ वटै स्थानीय तहको बजेट घटाएर सार्वजनिक गरेको छ।