काठमाडौँ । यो साता कारोबारको पहिलो दिन आइतबार ५ अङ्कले बढेको नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा दोस्रो दिन आज भने दोहोरो अङ्कको गिरावट देखिएको छ ।
नेप्से परिसूचक १७ दशमलव ३८ अङ्कले घटेर एक हजार नौ सय १ दशमलव ९९ अङ्कमा कायम भएको हो ।
आज दुई सय ७७ कम्पनीको ५६ लाख २ हजार तीन सय ८१ कित्ता शेयर ३६ हजार पाँच सय ६८ पटक खरिदबिक्री हुँदा एक अर्ब ९७ करोड ३४ लाख ९१ हजार एक सय सात बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूह एक सय २४ दशमलव १४ र उत्पादन तथा प्रशोधन समूह एक सय २१ दशमलव ३ अङ्कले घटेको छ । बैंकिङ समूह नौ दशमलव १६, विकास बैंक ५ दशमलव ९५, वित्त १७ दशमलव ३९, होटेल तथा पर्यटन ३२ दशमलव १, जलविद्युत् ११ दशमलव ५१ र लगानी समूह शून्य दशमलव ५४ अङ्कले घटेको छ ।
त्यसै गरी, लघुवित्त समूह १८ दशमलव ६४, म्युचुअल फन्ड शून्य दशमलव ३, निर्जीवन बीमा समूह ५७ दशमलव ६, व्यापार समूह ३६ दशमलव ९४ र अन्य समूह २ दशमलव ६३ अङ्कले घटेको छ ।
ग्लोबल आइएमइ ब्यालेन्स फन्ड१ को शेयर मूल्य आज सबैभन्दा धेरै आठ दशमलव २ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने शिवम् सिमेन्ट लिमिटेडको शेयर मूल्य चार दशमलव ५ प्रतिशतले घटेको छ ।
कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज शिवम् सिमेन्ट लिमिटेडको १९ करोड ८९ लाख ५६ हजार तीन सय ५३ बराबरको चार लाख १४ हजार छ सय १६ कित्ता शेयर किनबेच भएको छ ।